Breaking News.... EverestOnlineKhabar
July 5, 2026

Loading

काठमाडौ,माघ ।
बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। राष्ट्रियसभा सदस्यका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। आयोगका प्रवक्ता नवराज ढकालले भनेः‘मतपत्र छपाइदेखि सुरक्षा व्यवस्था, कर्मचारी खटपटन र व्यवस्थापकीय सबै तयारी पूरा भएको छ।’ राष्ट्रियसभा निर्वाचनका लागि १० हजारमतपत्रको छपाइ कार्य सम्पन्न भइसकेको छ। मतपत्र भने प्रदेशमा मतदान हुने एक दिनअघि मात्रै पुर्‍याइने छ।‘आइतबार नै मतपत्र सम्बन्धित मतदानकेन्द्रमा पुग्नेछ’, प्रवक्ता ढकालले भने ।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि रातो र हरियो दुई रङको मतपत्र प्रयोग गर्दै छ। प्रदेशसभाको लागि हरियो र स्थानीय तहको लागि रातो गरी दुई रङका चार प्रकारका मतपत्र प्रयोग गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। निर्वाचनमा महिला, दलित, अपांग र अल्पसंख्यक र अन्य समूह गरी चारवटा मतपत्र प्रयोग हुँदै छ। एक मतदाताले चार ठाउँमा भोट हाल्नुपर्नेछ। एकल संक्रमणीय प्रणालीका मतदाताले तीन वटा मतपत्रमा एक, दुई र तीन अंक दिएर भोट हाल्नुपर्नेछ। बहुमतीयतर्फ महिला र अन्य समूहका लागि भने मतदाताले‘ठिक चिह्न’ लगाएर भोट हाल्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए। एक मतदाताले चार मतपत्रमा आठ भोट दिनुपर्नेछ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। राष्ट्रियसभामा स्थानीय तहका एक हजार पाँच सय तीन र प्रदेशसभाका पाँच सय ५० गरी दुई हजार ५३ मतदाता छन्। ती मतदातालाई भोट हाल्ने तरिकाबारे आयोगले प्रशिक्षण समेत दिइसकेको छ। मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको तीन घेराबाट मजबुत सुरक्षा व्यवस्था मिलाइएको आयोगले जनाएको छ। मतदानअघि र मतगणना अवधिभर तीन वटै सुरक्षाकर्मीले भरपर्दो सुरक्षा प्रदान गर्नेछन्।
३२ सिटका लागि नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। विभिन्न प्रदेशमा गरी जम्मा २४ सिटमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन्। ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट र तीन जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।
प्रदेश २ मा आठ वटै पदका उम्मेदवार निर्विरोध भएकाले बुधबार सो प्रदेशमा मतदान नहुने भएको छ। निर्विरोध भएकालाई बुधबारै प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ। मतदान भएको दुई दिनमै गणना सक्ने व्यवस्था मिलाइएको छ। मतगणनाका लागि भने तथ्यांक विभागका कर्मचारीलाई आयोगले खटाइसकेको छ। एकल संक्रमणीय प्रणालीमा गणना कार्य पनि जटिल हुने भएकाले तथ्यांक विभागका कर्मचारीलाई झिकाएर आयोगले तालिम दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed