![]()
एजेन्सी,माघ ।
उत्तर कोरियाले अमेरिकालाई ओलम्पिकपछि पनि दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई जारी राखेमा उत्तर कोरियाका तर्फबाट कडा प्रतिक्रिया आउने धम्की दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघलाई लेखेको एक पत्रमार्फत सो जानकारी दिएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
गत नोभेम्बरदेखि उत्तर कोरियाले कुनै मिसाइल परीक्षण गरेको छैन र दक्षिण कोरियासँग शान्तिपूर्ण वार्ताका लागि सबै प्रयासहरुमा सहमति जनाइरहेको छ । तर पनि वर्षभरिको विवादका कारण अझै शंकामा रहेको अमेरिकाले उत्तर कोरियमाथि गत हप्ता फेरि नयाँ प्रतिबन्ध लगाएको थियो ।
यसैबीच उत्तर कोरियाका विदेश मन्त्री रि योङ होले संयुक्त राष्ट्र संघमा पठाएको पत्रमा यस्तो लेखेका छन्ः‘कोरियाली प्रायद्विपको शान्ति र सुरक्षामाथि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासले गम्भीर असर पुर्याउँदै आएको छ । यसका कारणले दुई कोरियाबीचको विवाद कहिल्यै समाधान हुन नसक्ने भएकाले शान्ति स्थापनाको प्रक्रिया झन कठिन बन्नेछ । यसकारण कठिन परिस्थितिका बावजुद दुईदेशबीच वार्ता सफल भइरहेको समयमा अमेरिकाले शान्ति भङ्ग नगराएको राम्रो हुनेछ । किनकी हामी दक्षिण कोरियासँग राम्रो सम्बन्ध कायम राख्न सक्दो प्रयास गर्नेछौँ तर सैन्य अभ्यास जारी भएमा चुप लागेर बस्ने छैनौँ ।’
उत्तर कोरियाले ओलम्पिकमा सहभागीता जनाउने बताएपछि दक्षिण कोरिया र अमेरिकाले यसअघि सैन्य अभ्यासलाई स्थगित गराउने निर्णय गरेका थिए ।


