![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकको संविधान परिस्कृत नभएकाले अब बामपन्थी नेतृत्वमा परिस्कृत गरिने बताउनु भएको छ ।
अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाइै सम्बोधन गर्दै उहाँले संविधान गतिशिल दस्तावेज भएकाले समय परिस्थितिअनुसार परिष्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । नेता खनालले संविधानमै रहेका थुप्रै उल्झन र जटिलताका कारण परिस्कृत गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।
अझैपनि मुलुकका बिभिन्न स्थानमा सीमा विवाद यथावत रहेकोतर्फ इङ्गित गर्दै उहाँले कुटनीतिक माध्यमबाट सुस्ता, कालीपानी लगायतका ठाउँको विवाद अन्त्य गरिने दाबी गर्नुभयो । कुनै खास देशसंग बिशेष सम्बन्ध राख्नु भन्दा पनि विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढनुपर्ने उहाँले बताउनुभयो । यसका लागि भारत र चीनको सहयोग लिनुपर्ने उहाँको भनाइ थियो ।
नेता खनालले एमालेलाई अझै बलियो, जाँगरिलो र सक्रिय बनाउन युवा नेतृत्व आवश्यक भएको बताउँदै नयाँ सोच, नैतिकता, इमानदारिता र क्रियाशिलता लिएर अघि बढन युवा पुस्तालाई प्रेरित पनि गर्नुभयो ।


