![]()
काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचनका लागि आफनो तयारीबारे दलहरुलाई जानकारी गराएको छ । आयोगले मंगलबार आयोगको कार्यालय कान्तिपथमा पाँच दलका नेताहरुलाई बोलाई तयारीबारे जानकारी गराएको हो । आयोगले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशसभामा निर्वाचित भएर आएका उम्मेदवारहरुले सपथ नखाएसम्म प्रक्रिया अघि बढन नसक्ने भन्दै छिटो काम अघि बढाउन आग्रह गरेको छ ।
राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिहरुले भोट हाल्ने भएकाले उनीहरुले सपथ लिन जरुरी छ । प्रदेश प्रमुखको नियुक्ति हुन नसक्दा प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नामावली पनि सार्वजनिक हुन सकेको छैन । सरकारले प्रदेश प्रमुख नियुक्त गर्न दलीय सहमति जुटाउन नसकिएको भन्दै मन्त्रिपरिषद् बैठक दैनिक सारिरहेको छ ।
छलफलका क्रममा आयोगले राष्ट्रिय सभा चुनावका लागि निर्दे्शिका समेत जारी गर्नेबारे जानकारी गराएको एमाले नेता सुवास चन्द्र नेम्वाङले जानकारी दिए । उनले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारले ढिलाइ गरेकोमा आपत्ती समेत जनाए ।
कांग्रेस नेता रमेश लेखकले आफूहरु गृहकार्यमै रहेकाले चाँडै सबै बिषयको विवाद टुंगिने बिश्वास व्यक्त गरे ।


