![]()
राजविराज । चिसो र शीतलहरका कारण कठ्यांग्रिएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १९ पुगेको छ । चिसो हावा, शीतलहर र तुसारो पर्ने क्रम थप बढ्दा जनजीवन झनै कष्टकर बन्न पुगेको छ। आइतबार दिउँसो केही बेर मधुरो घाम लागे पनि सोमबारबाट दिनभरि घाम लागेन। चिसो हावा चल्ने क्रम नरोकिएपछि शीतलहरको प्रभाव पनि कायमै रहेको छ ।
ससप्तरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो पटक तिरहुत ४ की ६० वर्षीया जलेश्वरीदेवी साह, सुरुंगा नगरपालिका १० का बुदिलाल मुखिया र कञ्चनरुप नगरपालिका ३ का ६० वर्षीया कलियादेवी सदाको मृत्यु भएको हो।
प्रहरीले चिसोबाट जोगिन एक सयभन्दा बढी ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइदिएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले १३ हजारभन्दा बढी कम्बल वितरण गरेको छ। विभिन्न संघसंस्था तथा व्यक्तिले पनि राहत वितरणलाई निरन्तरता दिएका छन्।


