![]()
काठमाडौं । नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आफै बनाउने जनाएको छ ।
जङ्गी अड्डामा पत्रकार सम्मेलन गर्दै सेनाले आयोजनाको डीपीआर आफैं बनाउने स्पष्ट पारेको हो ।
यससँगै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नहुने भएको छ । पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले भने, ‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ । ’
भारतीय कम्पनीले आफ्नो डीपीआर किन्नु पर्ने शर्त राखेको थियो । सरकारले भारतीय कम्पनीले बनाएका डीपीआर किन्ने निर्णय गर्दै अध्ययन गर्न सेनालाई भनेको थियो । अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो ।
भारतीय कम्पनीले मागेको मूल्य भन्दा कम रकममा नै नयाँ डीपीआर तयार हुने सेनाले बताएको छ । मूल्य मात्र नभई भारतीयकम्पनीले बनाएको डीपीआर हुबहू कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको सेनाले जनाएको छ ।


