![]()
इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बाम एकतापछि नेपाली कांग्रेस र दक्षिणपन्थी शक्ति राम्ररी सुत्न पनि नसकेको टिप्पणी गर्नुभएको छ ।
चुनाव प्रचार अभियानकाक्रममा गृहजिल्ला इलामको क्षेत्र नम्बर १ अन्तर्गत माइ नगरस्तरीय संयुक्त बामगठवन्धन भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले बामपन्थीले देश चलाउँदैछन भन्ने सन्देश गएपछि देशी बिदेशी शक्ति अत्तालिएको बताउनुभयो । बाम एकताले बिदेशीहरुमा चिन्ता बढेपनि जनतामा भने खुशीको संचार भएको उहाँले बताउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘बामगठवन्धनले मात्र मुलुकको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अखण्डता र देश बिकासका पूर्वाधारलाई तीव्रताकासाथ अगाडि बढाई नेपाली जनताको आधारभुत आवश्यकतालाई पूरा गर्छ । ’
उहाँले माइ नगरपालिकालाई बामपन्थीको लालकिल्लाका रुपमा अगाडि बढाउन र शतप्रतिशत भोट सूर्य चिन्हमा खस्ने हिसाबले काम गर्न गठवन्धनको संयुक्त प्रचार समितिलाई निर्देशनसमेत दिनुभयो । स्थानीय जनताका आवश्यकताबारे आफनो ध्यानाकर्षण भएको जनाउँदै नेता खनालले भन्नुभयो, ‘०७० सालको संविधानसभा निर्वाचनमा पनि तपाईले मलाई जिताउनुभयो । मैले त्यो बेला कबुल गरेका विषय मध्ये ८० प्रतिशत पूरा भैसके । अब २० प्रतिशत काम पनि म पूरा गर्ने प्रण गर्छु । ’
नेता खनालले आगामी आर्थिक बर्षमा राजद्धाली, तानाबारीहुँदै झापा जोडने सडकलाई कालोपत्रे गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।


