Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । विभिन्न दलका आधिकारिक उम्मेदवारलाई अफ्ठ्यारो पार्ने गरी बागी उम्मेदवारी दिएका केही उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र बागी उम्मेदवारले नाम फिर्ता लिएका हुन । यसले आधिकारिक उम्मेदवारहरुलाई राहत मिलेको छ ।

पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध काठमाडौं–२ मा बागी उम्मेदवारी दिएका एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन । नेता नेपालले श्रेष्ठलाई आइतबार विहान आफ्नै निवास कोटेश्वरमा दुई घण्टा सम्झाएका थिए ।

यस्तै, बर्दिया १ मा स्वतन्त्र उम्मेदवारी दिएका खड्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् । खड्काले पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए ।

यसैगरी, दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । यस्तै, दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनविरुद्ध बागी बनेका दुई उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । मोरङको क्षेत्र नम्बर ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकालविरुद्ध बागी उम्मेदवारी दिएका भेषनाथ रिजालले नाम फिर्ता लिएका हुन् ।
प्रदेशसभामा बागी बनेका डीपी राईले पनि नाम फिर्ता लिएका छन् । पार्टी अध्यक्ष केपी ओलीले यथोचित सम्मान गर्ने प्रतिवद्धता जनाएपछि उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि उदयपुर २ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । माओवादीका हिमाल किराँतीविरुद्ध मनोनयन दर्ता गराएका खतिवडाले नाम फिर्ता लिएका हुन् । उदयपुर २ को प्रदेशसभातर्फ भने माओवादीले पार्टी उम्मेदवार भेषकुमारी राउतको नाम फिर्ता लिएर बागी बनेका नारायणबहादुर मगरलाई समर्थन गरेको छ ।

उता, कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार आरजु राणा देउवाबिरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले नाम फिर्ता लिएका छन् । सोही क्षेत्रमा उठेका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख का उम्मेदवार कालीप्रसाद जोशी, सोही पार्टीका तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नं. क का उम्मेदवार हरिसिंह साँउदले उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेश सभाका दुवै क्षेत्रबाट उम्मेदवारी दिएको नयाँ शक्ति पार्टी नेपालका उमेदवारहरुले पनि उमेदवारी फिर्ता लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका कार्यकर्ता नरबहादुर पालले समेत निर्वाचन क्षेत्र नं. ख बाट प्रदेश सभाका लागि दर्ता गरेको उमेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ । उमेदवारी फिर्ता लिएका सबै उमेदवारहरुले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर लोकतान्त्रिक गठबन्धनलाई सघाउन उमेदवारी फिर्ता लिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.