![]()
एजेन्सी । लगातार दुइवटा अभ्यास खेलमा लज्जास्पद पराजय बेहोरेको नेपालको यू १९ क्रिकेट टोली तेस्रो खेलमा भने लयमा फर्किएको छ । तेस्रो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै नेपाली टोलीले आफनो ब्याटिङ क्षमता पनि अब्बल रहेको प्रमाणित गरेको छ ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपालले बंगलादेशलाई २२५ रनमा रोकेको थियो । बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२५ रन बनाएको थियो । नेपालका लागि सहाब आलमले सर्वाधिक ३ विकेट लिदै बंगलादेशलाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । यस्तै, अनिल शाहले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै २२९ रन बनायो । नेपालका लागि असिफ शेखले सर्वाधिक ९० रन बनाए । आउट हुनुअघि उनले नौ चौका र तीन बिशाल छक्का प्रहार गरे । यस्तै, जितेन्द्र सिंहले ४५, दिपेन्द्र पौडेलले २५ र कप्तान दिपेन्द्र सिंह ऐरीले नटआउट २७ रन बनाए ।


