Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा, जापानसंगको सम्बन्धबाट ट्रम्प खुशी

Loading

बिबिसि । एसियाली मुलुकहरुको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जापान पुगेका छन् । टोकियो नजिकै रहेको अमेरिकी र जापानी सेनाको योकोता सैनिक अखडामा बोल्दै ट्रम्पले दुई मुलुकबीचको गठबन्धनको प्रशंसा गरे ।

उनले आफू राष्ट्रपति रहुञ्जेल शान्ति कायम राख्न र स्वतन्त्रताको रक्षा गर्नका निम्ति सेनाले आवश्यक स्रोतसाधन पाइरहने बताए । आफ्नो स्वतन्त्रताको रक्षा गर्ने विषयमा अमेरिका कहिल्यै कमजोर नहुने भएकोले कुनै पनि मुलुक वा तानाशाहले वाशिङटनको संकल्पलाई बेवास्ता गर्न नसक्ने ट्रम्पले जिकिर गरे ।

जापानपछि ट्रम्पले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन् । गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हो ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन् । आफ्नो भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अपेक्षा गरिएको छ ।

जापानमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेट हुन सक्ने बताए । उनले भने, “मेरो विचारमा पुटिनसँग हाम्रो भेट हुनसक्छ । उत्तर कोरियाली मुद्दामा हामी पुटिनको सहयोग चाहन्छौँ ।“

ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ । भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठकमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन् । त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.