Breaking News.... EverestOnlineKhabar
June 27, 2026

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका यी हुन् १५ भिडन्तः जसले मुलुकको ध्यान तान्नेछ

Loading

काठमाडौ,१९ कार्तिक ।
मंसिर २१ मा हुने दोस्रो चरणको चुनावमा ४ हजार ७ सय बढी उम्मेदवार प्रतिस्पर्धा गर्दैछन्। चुनावमा एमाले–माओवादी गठबन्धनको तालमेल छ भने कांग्रेस र राप्रपाले पनि तालमेल गरेको छ। मधेसमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम मिलेका छन्।
त्रिपक्षीय तालमेलका कारण यसपालिको चुनाव रोचक हुनेछ। कतिपय यस्ता ठाउँ छन् जहाँ गठबन्धनलाई चुनाव जित्न गाह्रो हुने छ। दोस्रो चरणमा प्रमुख दलका शीर्ष र चर्चित नेताहरु लड्ने क्षेत्रहरू छन्। ती मध्ये १५ ठाउँका रोचक भिडन्तले समग्र मुलुककै ध्यान तान्नेछ ।
१. पुष्पकमल दहाल र विक्रम पाण्डे
चितवन क्षेत्र नम्बर ३ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल वाम गठबन्धनबाट प्रतिनिधि सभा चुनाव उठेका छन्। यो क्षेत्र उनका लागि नयाँ हो। स्थानीय चुनावमा कांग्रेससँगको तालमेलकै कारण यो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा दाहालकी छोरी रेणुले मेयर जितेकी थिइन्।
उनका विरुद्ध यहाँ वन मन्त्रीसमेत रहेका राप्रपा नेता विक्रम पाण्डे उठेका छन्। उनी राप्रपा र कांग्रेसका संयुक्त उम्मेदवार हुन्। दोस्रो संविधानसभा चुनाव क्षेत्र नम्बर ५ बाट उनले जितेका थिए। यो क्षेत्रमा कांग्रेस मत बलियो मानिन्छ। तर एमाले माओवादी गठबन्धनको संयुक्त भोट पनि यहाँ राम्रो छ। यी दुवै उम्मेदवारका कारणले यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक हुनेछ।
२.विमलेन्द्र निधि र राजेन्द्र महतो
उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म राष्ट्रिय जनता पार्टी र कांग्रेसबीच तालमेल गर्ने विषयमा छलफल भए पनि सफल हुन सकेन। तराईमा कांग्रेस राजपा तालमेल विमलेन्द्र निधिकै कारण हुन नसकेको भनेर राजपा नेता राजेन्द्र महतोले सार्वजनिक टिप्पणी दिए।
यी दुवै नेता अब धनुषा क्षेत्र नम्बर ३ को चुनावी मैदानमा आमनेसामने भएका छन्। धनुषा कांग्रेसको प्रभाव क्षेत्र हो। मधेस आन्दोलनको केन्द्र जनकपुरमा राजपाको पनि राम्रै प्रभाव छ।
३. प्रकाशशरण महत र ईश्वर पोखरेल
काठमाडौँ क्षेत्र नम्बर ५ मा दोस्रो संविधानसभामा निकै रोचक प्रतिस्पर्धा भएको थियो। अन्तिम नतिजामा भने, एमालेका ईश्वर पोखरेललाई कांग्रेसका नरहरि आचार्यले १ हजार मतले पराजित गरे। त्यही क्षेत्रमा यसपालि नरहरिको सट्टा कांग्रेसबाट प्रकाशशरण महत उठेका छन्। एमालेबाट भने पोखरेल नै उम्मेदवार छन्।
४. कृष्ण सिटौला र राजेन्द्र लिङ्देन
देशैभर चुनावी तालमेल गरेका कांग्रेस र राप्रपा झापा–३ मा भने आपसमा भिड्ने भएका छन्। कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन यहाँ उम्मेद्वार छन्। यी दुबै दोस्रो संविधानसभाका पनि प्रतिस्पर्धी हुन्। त्यतिबेला थोरै मतले मात्र सिटौलाले जितेका थिए।
स्थानीय चुनावमा यो क्षेत्रका दुई गाउँपालिका राप्रपाले जितेको छ।
५. गगन थापा र राजन भट्टराई
काठमाडौँ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगन थापा र एमालेका राजन भट्टराई भिड्दै छन्। यो क्षेत्रमा संविधानसभाका दुबै चुनाव कांग्रेसले जितेको थियो। दोस्रो संविधानसभामा थापाले एमालेका उम्मेदवारलाई झन्डै १३ हजार मतले जितेका थिए।
तर यसपालि एमालेलाई माओवादी मत पनि आउने छ। स्थानीय तहमा यो क्षेत्रमा कांग्रेसलाई भन्दा वाम गठबन्धनलाई आएको मत बढी छ। त्यसैले यसपालि यहाँको चुनावी प्रतिस्पर्धा रोचक हुने छ।
६. शेखर कोइराला र लालबाबु पण्डित
कांग्रेसमा कोइराला परिवारको विषेश स्थान हुन्छ। पार्टी भित्र पनि कोइराला परिवारको प्रभाव राम्रो छ। शेखर कोइराला त त्यही परिवारका उत्तराधिकारी हुन्। मोरङ क्षेत्र नम्बर ६ मा दोस्रो संविधानसभाको चुनावमा फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलाई उनले हराएका थिए। यसपालि गच्छदारको कांग्रेस फर्किएका छन्। त्यसैले यहाँ कांग्रेस बलियो छ। कोइरालासँग प्रतिस्पर्धा गर्ने एमाले उम्मेदवार लालबाबु पण्डित पनि कम छैनन्। सुशील कोइराला नेतृत्वको सरकारमा उनी सामान्य प्रसाशन मन्त्री भएका थिए।
डिभी र पिआर बनाएर विदेश बस्ने निजामती कर्मचारीलाई जागिरबाट विदा गर्ने नीति लिएर उनले खुबै चर्चा कमाएका थिए।
७. यज्ञबहादुर थापा र खगराज अधिकारी
कास्की क्षेत्र नम्बर १ मा कांग्रेसबाट कानून मन्त्री यज्ञबहादुर थापा र पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी भिड्दै छन्।
दोस्रो संविधानसभाको चुनावमा थापाले अधिकारीलाई हराएका थिए। अधिकारी पहिलो संविधानसभा चुनावमा पनि पराजित भएका थिए। यसपालि उनी जित्छन् कि हारको ह्याट्रिक मनाउँछन् भन्ने चासोको विषय छ।
८. प्रकाशमान सिंह र रवीन्द्र मिश्र
काठमाडौँको क्षेत्र नम्बर १ मा यसपालि नयाँ दल विवेकशील साझाका रवीन्द्र मिश्रले उम्मेदवारी दिएका छन्। कांग्रेसको गढ मानिने यो क्षेत्रबाट दुबै संविधानसभामा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जितेका थिए। स्थानीय तह चुनावमा यो क्षेत्रबाट विवेकशील साझाका मेयर उम्मेदवारलाई आएको मत कांग्रेस र एमालेलाई आएको मत झण्डै उस्तै थियो। यो क्षेत्रमा एमाले माओवादी गठबन्धनकै मत जोड्दा पनि जित्ने सम्भावना कम छ।
स्थानीय चुनावमा कांग्रेसको धेरै मत काटेको साझा विवेकशीलले यो पालि कति भोट ल्याउला भन्नेमा सबैको चासो छ। पत्रकारका रूपमा नाम कमाएका मिश्र र कांग्रेसका प्रभावशाली नेताबीचको प्रतिस्पर्धा निकै रोचक हुनेछ।
९. चन्द्र भण्डारी र प्रदीप ज्ञवाली
दोस्रो संविधानसभा चुनावमा गुल्मी क्षेत्र नम्बर २ बाट कांग्रेसका चन्द्र भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए। यसपालिको चुनावमा पनि उनीहरू चुनावी मैदानमा उत्रिएका छन्।
एमालेका प्रभावशाली नेतामध्ये पर्छन्, ज्ञवाली। त्यसैले यो चुनाव जित्नु उनको प्रतिष्ठाको विषय पनि हो। यसपालि उनले भण्डारीसंग चुनावी बदला लिन सक्लान् धेरैको चासोको विषय हो।
१०. राम कार्की र विश्वप्रकाश शर्मा
झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनले पूर्वसञ्चारमन्त्री राम कार्कीलाई चुनावी मैदानमा उतारेको छ। सो क्षेत्रमा कांग्रेसका यूवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन्। शर्मा दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवारसँग केही सय मतले मात्र पराजित भएका थिए। यसपालि चुनावको घोषणा भएलगत्तै उनी प्रचारप्रसार सुरु गरेका थिए। यो क्षेत्रको धेरै भाग पर्ने मेची नगरमा स्थानीय चुनावमा कांग्रेसले जितेको छ।
११. सुवास नेम्वाङ र केशव थापा
संविधानसभा अध्यक्ष एंव एमाले नेता सुवास नेम्वाङ र कांग्रेस नेता केशव थापा यसपालि इलाम–२ बाट चुनाव लड्दै छन्। २०७० सालको चुनावमा नेम्वाङले इलाम–३ र थापाले इलाम–२ बाट चुनाव जितेका थिए। अहिले दुई क्षेत्र कायम हुँदा उनीहरू एउटै क्षेत्रबाट लड्न लागेको हुन्।
१२. प्रदीप गिरि र सुरेशचन्द्र दास
दुबै संविधानसभामा समानुपातिकबाट सांसद बनेका कांग्रेस नेता प्रदीप गिरि यसपालि सिरहा–१ बाट चुनाव लड्दै छन्। उनले २०५१ सालको मध्यावधि निर्वाचनमा चुनाव जितेका थिए। २०५६ सालमा चुनाव हारे।
१३. नवराज सिलवाल र उदयशमशेर राणा
नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएका नवराज सिलवाल एमालेबाट ललितपुर–१ मा उम्मेदवार बनेका छन्। यो क्षेत्रमा उनको प्रतिष्पर्धा नेपाली कांग्रेसका पूर्वसांसद उदयशमशेर राणासँग हुँदै छ। २०७० सालमा यही क्षेत्रबाट निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष हुन्।
१४. घनश्याम भुषाल र दीपक बोहोरा
एमाले उपमहासचिव घनश्याम भुषाल संविधान सभा चुनावमा रुपन्देही– ३ मा कांग्रेसका बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए। यसपालि उनको प्रतिष्पर्धा राप्रपा नेता तथा स्वास्थ्य मन्त्री दीपक बोहोरासँग हुने भएको छ। ०७० को चुनावमा दीपक बोहोरा रुपन्देही १ बाट निर्वाचित भएका थिए।
१५.आरजु राणा देउवा र नारदमुनि राना थारू
यसअघि समानुपातिकबाट सांसद बनेकी कांग्रेस नेतृ आरजु देउवा राणा कैलाली–५ बाट उम्मेदवार बनेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुविरूद्ध वाम गठबन्धनले एमालेका नारदमुनि राना थारूलाई उठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.