![]()
काठमाडौ,१९ कार्तिक ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ ।
आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्याउनुपर्नेछ ।
निर्वाचन आयुक्त सुधिरकुमार शाहले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए । यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो ।उनले भनेः‘मतदातालाई सहज होस्, मत बदर नहोस् भनेर मतदाता शिक्षा र कर्मचारी तालिममा जोड दिनुका साथै मतदान केन्द्रको डिजाइन परिवर्तन गरिएको छ,सम्पूर्ण तयारी गर्दा मतदातालाई ध्यानमा राखिएको छ ।’


