![]()
एजेन्सी । एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २ – ० ले पराजित भएको हो ।
किर्गिस्तानको राजधानी बिस्केकमा भएको पहिलो खेलमा २१ औं मिनेटमा बोरुबेवे गुलजीगिटले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ – ० ले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने मौका गुमाएको थियो । खेलको ६० औं मिनेटमा किर्गिस्तानका किपर बिट भैसकेको अवस्थामा रेजीन सुब्बा गोल गर्नबाट चुकेका थिए । उनको सामान्य प्रहार किर्गिस्तानका डिफेन्सले क्लियर गरेका थिए । खेलको इन्जुरी समयमा शुकुरोभ अलिमार्डोनले गोल गर्दै किर्गिस्तानलाई २–० ले जिताए ।
नेपाली युवा टोलीले अब दोस्रो खेलमा बिहिबार बहराइनको सामना गर्ने छ । ‘समूह ए’ मा रहेको नेपालले तेस्रो खेलमा कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग अन्तिम खेल खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।


