Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेश र संसदको चुनाव एक साथ तर दुई चरणमाः मिति छिट्टै घोषणा गरिने

Loading

काठमाडौ,२ भदौ ।
प्रदेशसभा र संघीय संसदको चुनाव एक साथ गर्ने सरकारले तयारी गरेको छ । तर,दुवै तहको चुनाव एक साथ गरिए पनि दुई चरणमा गर्ने सरकारको तयारी छ । सम्भवत मंसिर ४ गते चुनाव गर्ने गरी मिति घोषणा हुने स्रोतले जनाएको छ । प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरे ।
छलफलमा आयोग प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न सहमत भएको छ । स्रोतले भन्योः‘सरकारले पर्सि निर्वाचनको मिति घोषणा गर्छ । मंसिर ४ मा चुनाव गर्ने तयारी छ ।’
यो मिति आयोगले प्रस्ताव गरेको हो, जसमा दलहरु सहमत देखिएका छन् । एक नेताका अनुसार दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ । प्रदेश र संसदको चुनाव एकै चरणमा गर्न आयोगले केही सर्त राखेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भनेः‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनसँगसँगै गर्ने समझदारी भएको छ । निर्वाचनका लागि चाहिने कानुन ५ गतेभित्र र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ गते भित्र चाहिन्छ ।’
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्वन्धी कानुन संसदमा विचाराधीन छ । क्षेत्र निर्धारण आयोगले गठन गर्दा दिइएको २१ दिनमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिनको समय दिइएको छ । स्रोतका अनुसार बैठकमा देशभर एकै चरणमा गर्ने कि दुई चरणमा भन्ने पनि छलफल भएको छ । प्रमुख दलका नेताहरुले एकै चरणमा गर्नु पर्नेमा जोड दिएका छन् । तर, आयोगले भने तयारीका लागि दुई चरणमा गर्नु उपयुक्त हुने राय राखेको छ । स्रोतले भन्योः‘आयोगले पहिलो चरणमा हिमालीसहित ३१ जिल्लामा गरौं । बाँकी जिल्लामा ७–८ दिनपछि गरौं भनेको छ ।’
यसबारे आयोगमा थप छलफल गरेर आजसम्ममा ठोस जवाफ दिने आयोग पदाधिकारीहरुले बताएका छन् । यदि दुर्इ चरणमा चुनाव हुने भयो भने पहिलो चरणमा हिमाली र पहाडी जिल्लाहरूमा चुनाव हुनेछ र एकै प्रदेशमा दुर्इ चरणमा पनि चुनाव हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed