![]()
चितवन । भरतपुर महानगरपालिका १९ नम्बर वडामा निर्वाचनको मतगणना सकिएपछि अहिले २० नम्बर वडाको मत गणना भैरहेको छ । वडा नम्बर १९ को मतगणना सकिंदा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले २ सय २१ मतको अन्तर कायम गर्नुभएको छ । ज्ञवालीको ४१ हजार ९ सय ४६ मत रहेको छ । मतान्तर कम गर्दै आएकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नुभएको छ ।
कंग्रेसबाट उपमेयरका उम्मेदवार पार्वती शाहले ४५ हजार ६ सय २३ र एमालेका उम्मेदवार दिव्य आचार्यले ३८ हजार ६ सय ४ मत प्राप्त गर्नु भएको छ । आज राती अबेरसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताउनुभयो ।
भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ भने तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ ।


