![]()
काठमाडौ,२० साउन ।
एमालेले प्रदेश नम्बर २ को निर्वाचनमा कांग्रेसबाहेकका दलसँग तालमेलका लागि खुला रहने जनाएको छ । २ असोजमा आठ जिल्लाका १२७ तहमा हुने निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस देखिएको विश्लेषण गर्दै एमालेले सो पार्टीबाहेकका जुनसुकै दलसँग तालमेल गर्ने नीति लिएको हो । एमाले स्रोतले भन्योः‘कांग्रेसबाहेकको जुन दल तयार हुन्छ, त्यही दलसँग तालमेलका लागि हामी खुला छौँ, राजपाले चुनावमा भाग लिने निर्णय गरेर आवश्यकता ठान्यो भने ऊसँग पनि तालमेल हुन सक्छ, अरू दल लचिलो बने भने स्थानीय आवश्यकताका आधारमा तालमेलका लागि एमाले तयार हुन्छ । ’
कांग्रेसबाहेकका दलसँग तालमेलको नीति खुलै राखे पनि आफूविरुद्ध कांग्रेससहित सबै दलले घेराबन्दी गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको एमालेको विश्लेषण छ । त्यस्तो अवस्थामा सबै तहमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै एमालेले सोहीअनुसार चुनावी तयारीलाई तीव्रता दिइरहेको छ ।
एमालेले प्रदेश नम्बर २ मा न्यूनतम ६० सिट जित्न सकिने प्रारम्भिक आँकलन गरेको छ । ७० प्रतिशत स्थानमा कांग्रेससँगै प्रतिस्पर्धा हुने एमालेको ठम्याइ छ । तर, पर्सा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरीका ३० भन्दा बढी स्थानीय तहमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपाल मुख्य प्रतिस्पर्धीका रूपमा रहने एमालेको विश्लेषण छ ।


