![]()
काठमाडौ,१५ असार ।
बुधबार शान्तिपुर्ण तथा उल्लासका साथ सम्पन्न भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । बुधबार भएको निर्वाचनको मतगणना गएरातिबाटै शुरु भएको हो । मतदान सकिएलगत्तै मतपेटिका संकलन भएका भएका स्थानीय तहहरुमा मतगणना शुरु गरिएको हो भने केही स्थानीय तहको मतगणना आजबाट मात्र शुरु गरिने भएको छ ।
प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा भएको मतदानको प्रारम्भिक परिणाम पनि आउन थालेको छ । झापा, सुनसरी, मोरङ, भोजपुर, संखुवासभा, रुपन्देही, कैलाली, बाजुरा, कञ्चनपुर, डोटी, बैतडीका स्थानीय तहमा मतगणना जारी छ ।
त्यसैगरी, पाँचथर, उदयपुर, बाँके, गुल्मी, सोलुखुम्बु, नवलपरासी, रोल्पालगायतका जिल्लाका स्थानीय तहको मतगणना पनि जारी छ । प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । नेपाली कांग्रेसले बाजुराको बडीमालिका नगरपालिकाको वडा नम्बर एकको अध्यक्ष पदमा विजयी हासिल गरेर खाता खोलेका छन् ।


