![]()
इनरुवा,१२ असार ।
केही मधेश केन्द्रित दल निर्वाचनको विरोधमा आन्दोलनमा रहँदा मधेशी जनता भने मतदानका निम्ति आतुर देखिएका छन् ।चुनाव पनि आन्दोलनकै स्वरुप भएको भन्दै केही मधेसवादी दल चुनावी प्रतिष्पर्धामा उत्रिएपछि परिस्थिति सहज बनेको छ ।संविधान संशोधनका लागि संयुक्त संघर्ष गरेका मधेश केन्द्रीत दलहरु अहिले दुई कित्तामा विभक्त छन् ।
राजपाले निर्वाचन बहिष्कार गरेको छ भने नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल चुनावी प्रतिष्पर्धामा होमिएका छन् । यी दुवै पक्ष मतदाताको घर दैलोमा पुगिरहेका छन् तर फरक–फरक मुद्दा लिएर । राजपा नेताहरु मतदानमा सहभागि नहुन मतदातासँग आग्रह गरिरहेका छन् भने अन्य दुई दलका नेता आफुलाई भोट माग्न ब्यस्त छन् । मधेशी जनतालाई अधिकार दिन भनेर राजनीति गरिरहेका नेताहरुले तिनै जनताको भावना बुझ्न सकेका छैनन् ।
चुनाव प्रचारप्रसारमा रहेको सहभागिताले पनि मधेशी जनता के चाहन्छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । विकासका लागि चुनाव अपरिहार्य भएको ठहर छ मधेशी जनताको । चुनाव बहिस्कार गर्नु गलत भन्दै उनीहरुले आफुहरु आफ्ना जनप्रतिनिधि चुन्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।


