Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भरतपुरमा च्यातिएका मतपत्र जहाजबाट काठमाडौं ल्याइँदै

Loading

काठमाडौ,१२ असार ।
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेको कागजपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयले मङ्गलबार पठाउने भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार साँझ आयोजना गरेको सर्वदलीय बैठकमा मङ्गलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखी शिल गरेर सर्वोच्च अदालतमा पठाउने सहमति भएको हो।
सहायक मतदान अधिकृत गम्भीर घिमिरेकाअनुसार बिहान ८ः१५ को जहाजमा सुरक्षाकर्मीसहित च्यातिएका मतपत्र, स्थगित मुचुल्का, स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र हेरेर पुनः पठाइएको प्रतिवेदनसँगै पठाइने छ। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सर्वोच्च अदालतको आदेशअनुसार तोकिएको समयमा सबै कागजपत्र पठाइने बताए। सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग मागेको तत्कालीन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सँगै पठाइने भएको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सर्वोच्च अदालतले मागे अनुरुपका प्रहरीले दिएका सबै प्रतिवेदन मङ्गलबार नै पठाइने बताए।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन यही असार ६ गते आदेश दिएको थियो। कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको थियो।
फैसलाको भोलिपल्ट मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्र आएकाले पत्र पाएको सातौँ दिन मङ्गलबार कागजपत्र पठाउन लागिएको हो। भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना जारी रहेको बेला दलका कार्यकर्ताले मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो। महानगरपालिकाका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ भने १९ को मतगणना अन्योलमा छ। वडा नं २० को मतगणना भने बाँकी छ।
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन्। निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्न निर्देशन दिएपछि नेकपा एमालेले मतगणना जारी गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed