![]()
काठमाडौ,२ असार ।
सरकारले प्रदेश नं.२ को निर्वाचन सारेसंगै मधेशका जनताले व्यापक आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग पूरा गराउने बहानामा दुई नम्बर प्रदेशको चुनाव सार्ने सरकारी निर्णयप्रति मधेसमा व्यापक विरोध सुरु भएको हो । चुनाव सार्ने आन्दोलनको अजेन्डा नभएको भन्दै स्वयं राजपाका नेताहरूले नै सरकारी निर्णयकोे विरोध गरेका छन्। यस्तै मधेसका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवाले पनि सरकारी कदमको चर्को आलोचना गरेका छन्। यथास्थितिमा संविधान जारी गर्न नदिन सुरु भएको आन्दोलन आज पनि संविधानभित्रको त्रुटि सच्याउनकै लागि जारी रहेको विश्लेषको भनाई छ ।
सरकार मधेसको स्थायी समस्या समाधान गर्न इमानदारी देखाउन नसकेको भन्दै चुनाव सार्ने निर्णय जनतालाई भुलभुलैयामा पार्न गरिएको मधेशका जानकार तुलनारायण शाहको आरोप छ । साहले भनेः‘ असोज २ गतेसम्म पनि मधेसको समस्या सम्बोधन हुन सक्दैन, फेरि आन्दोलन जारी रहन्छ र चुनाव अनिश्चित बन्छ ।’ यस्तै प्रक्रिया चलिरहे ६ महिनापछि मधेसी जनताले चुनाव गराउनुपर्ने माग गर्दै आन्दोलन गर्नुपर्ने स्थिति आउने साहको भविष्यवाणी छ। प्राध्यापक डा. भोगेन्द्र झाले अहिलेको अवस्था आउनुमा राजपालाई मुख्य दोषी देख्छन्। उनले भनेः‘मधेसको समस्यालाई अल्झाएर राख्ने सरकार त दोषी छँदैछ, मधेसलाई अधिकार दिलाउन भन्दै संघर्षमा रहेको राजपा पनि कम दोषी छैन। संविधान संशोधन नहुँदै प्रधानमन्त्रीको चुनावमा पुष्पकमल दाहाल र फेरि शेरबहादुर देउवालाई राजपाले मतदान गर्नुको कारण के हो ?’
हतारमा प्रधानमन्त्रीमा देउवाको पक्षमा मतदान गर्न जाने तर, अहिले समस्या समाधान गराउन पहलकदमी लिन नसक्नु मधेसी पार्टीको ठूलो असक्षमता रहेको उनले बताए। सत्तारूढ प्रमुख दल र प्रमुख प्रतिपक्षी एमाले मधेसको मुद्दाप्रति एकमत रहेको जिकिर गर्दै यादवले ती दलले आफ्नै व्यवहारले मधेसी जनताप्रति अपनत्वको सम्बन्ध जोड्न नसकिरहेको आरोप लगाए। राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले प्रदेश नम्बर दुईको चुनाव सार्ने सरकारको निर्णय एकलौटी भएको आरोप लगाउँदै आन्दोलन जारी रहेको बताए।
असार १४ गतेको चुनावी प्रक्रियाअन्तर्गत २ गते हुने उम्मेदवारी दर्तालाई बिथोल्न राजपाले जेठ ३० देखि ४ दिनसम्म मधेस बन्दको आह्वान गरेको छ। बन्दको तेस्रो दिन सरकारले राजपाकै आन्दोलनका कारण भन्दै औपचारिक रूपमा चुनाव सार्ने निर्णय गरिसकेको छ भने राजपा बन्द शुक्रबार पनि यथावत् रहने जनाइएको छ।
यादवले आन्दोलन जारी रहेको प्रदेश नम्बर १, २ र ५ अन्तर्गतका लिम्बुवान, मधेस र थरूहट क्षेत्रमा गरी कम्तीमा २५ वटा जिल्लाको चुनाव सारेर उक्त समयभित्र मधेसको समस्या समाधान हुने गरी सरकारको ठोस निर्णय आउनुपर्ने बताए। दुई नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय तत्काल सरकारले नसच्याए शुक्रबारदेखि आन्दोलन झन् सशक्त पार्ने राजपा महासचिव देवेन्द्र यादवले बताए।


