Breaking News.... EverestOnlineKhabar
February 5, 2026

निर्वाचन तोकिएकै मितिमा गर्न सरकारलाई एमालेको आग्रह

Loading

काठमाडौ,१ असार ।
प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने र कुनै हालतमा पनि सरकारले निर्वाचन सार्न नहुनेमा जोड दिएको छ । नेकपा एमालेको पार्टी कार्यालयमा बुधबार बसेको स्थायी कमिटीको बैठकले निर्धारित् मितिमा निर्वाचन गर्न नसके नेतृत्व गर्नेको नियतमाथिसमेत गम्भीर ढंगले प्रश्न उठ्ने हुँदा निर्वाचन सार्न नहुनेमा जोड दिइएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सबै राजनीतिक दलसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित नहुन सरकारलाई आग्रह गरेको पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
सरकारको नेतृत्व तहबाटै निर्वाचनका मितिकाबारेमा भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनकाबारेमा अनिश्चतता सिर्जना गर्ने र राजनीतिक अस्थिरतालाई बढावा दिने सार्वजनिक अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको बैठकपछि पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तोकिएको मितिमा प्रदेश नम्बर–१, २, ५ र ७ मा निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दै बैठकले स्थानीय तहको निर्वाचन र संविधान संशोधन बिल्कुल अलग विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले व्यवस्थापिका–संसदमा प्रस्तावित संविधान संशोधनप्रति पार्टीको गम्भीर असहमति रहेको र उक्त प्रस्तावलाई फिर्ता गर्न सरकारसमक्ष मागसमेत गरेको छ ।
बैठकले राष्ट्रिय जनता पार्टी (राजपा)ले केही समयदेखि उठाउँदै आएका केही मागप्रति पार्टी सकारात्मक रहेको जनाउँदै विशेषगरी आन्दोलनकाक्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचारको व्यवस्था गर्नेलगायतका मागलाई सम्बोधन गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.