![]()
काठमाडौ,जेठ ।
राष्ट्रिय जनता पार्टी नेपालले जेठ ३१ गते हुने दोस्रो चरणको चुनाव सार्न प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ दलको मुख्य घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) ले जेठ ३१ गतेको चुनाव सार्न प्रस्ताव गरेको हो । तर,राजपा नेपालको उक्त प्रस्तावलाई सत्तारुढ दलको मुख्य घटक नेपाली कांग्रेसले अस्विकार गरेको छ ।
काँग्रेस नेताहरुले जेठ ३१ को चुनाव नसार्ने भन्दै संविधान संशोधनका लागि अग्रसरता लिने जबाफ दिएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा राजपा नेताहरुले संविधान संशोधनका लागि समय लाग्ने भएकाले चुनाव सार्नुपर्ने तर्क गरेका थिए ।
कांग्रेस नेताहरुले जेठ ३१ को चुनाव सार्दा प्रदेश र संघीय संसदको चुनावलाई असर पुर्ने भन्दै त्यस्तो प्रस्ताव अस्वीकार गरेका हुन् । जेठ ३१ को चुनाव सार्नसाथ बर्षाका कारण असोजयता चुनाव संभव छैन । असोजमा स्थानीय तहको दोस्रो चरणको चुनाव गर्दा प्रदेश र संघीय संसदको चुनावलाई असर गर्छ ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनलाई पारित गर्ने सवालमा बैठकमा लामो छलफल भएको बताए । संसदीय प्रकृयामा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई संख्या नपुग्दा सरकारले मतदानमा लैजान मानेको छैन । राजापा नेताहरुकै सुझावमा दुई तिहाई नपुग्दा सम्म त्यसलाई मतदानमा नलगिएको हो ।
राजपाका नेताहरु भने स्थगन गर्ने र पारित नहुनेगरी मतदानमा लैजाने दुवै बिषयप्रति लचक देखिएका छैनन् । उनीहरुको सर्त चुनाव अघि जसरी पनि संविधान संशोधन विधेयक पारित हुनुपर्ने थियो । बैठकमा कांग्रेस नेताहरुले मधेसमा स्थानीय तहको संख्या बढाउन समिति गठन भएको, मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा भईसकेको र मुद्दा फिर्ता लिने प्रकृया अघि बढिसकेको अवस्थामा चुनाव आउन आग्रह गरेका थिए । उनीहरुले आफूहरुको चुनाव चिन्ह पाउनेबारेमा पनि प्राविधिक जटिलता उठाएका थिए । तर, कांग्रेस नेताहरुले चुनाव चिन्ह दिलाउने बिषय मिलाउन सकिने बताएका थिए ।
बैशाख १७ गतेको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक मतदानमा लैजाने तयारी गरेपनि राप्रपाकै एक दर्जन सांसद अनुपस्थित भएपछि रोकिएको थियो । कांग्रेस सभापति शेरवहादुर देउवाले राप्रपाका नेताहरुसंग संविधान संशोधनको बिषयमा छलफल गर्न विहीबार नै बैठक राखेका छन् ।


