![]()
भरतपुर,३० बैशाख ।
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकै नेपाली काँग्रेसको सम्पर्क कार्यालय आडमा भेटिएको होक्स प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान निस्क्रिय (डिस्पोज) गरेको छ । भरतपुर महानगरपालिका–९ सरदपुरमा रहेको सो कार्यालयको आडमा शङ्कास्पत वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम निस्क्रिय गर्नुअघि सो क्षेत्रको सुरक्षाका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेसँगै अहिले त्यस क्षेत्रको जनजीवन सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
निर्वाचनको समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
यता, पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा शुक्रबार राति बम विस्फोट गराइएको छ । केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएको विस्फोटले स्थानीयलाई भने तर्सित बनाएको थियो ।
निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ ।
बम विस्फोट गराइएको विद्यालयमा वडा नं ६ को मतदान केन्द्र राखिएको छ । प्रहरीले यस्ता गतिविधिमा संलग्न उच्छुङ्खल तत्वको खोजतलास गरिरहेको जनाएको छ ।


