![]()
काठमाडौं, वैशाख २१ । एएफसी एसियन कप छनोटको तयारीस्वरुप नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबारदेखि प्रशिक्षण सुरु गरेको छ ।
जापानी प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्सविरुद्धको खेलमा छनोट गरिएका २७ जना खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण सुरु गरेका हुन् ।
नेपालले एसियन कप छनोट फुटबलअन्तर्गत् दोस्रो खेलमा आगामी जुन १३ तारिख अर्थात् जेठ ३० गते मंगलबार यमनविरुद्ध खेल्दैछ ।
उक्त खेल काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।
नेपालले एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो ।
चोटका कारण उक्त खेल गुमाएका नवयुग श्रेष्ठ आगामी खेलका लागि भने उपलब्ध हुनेछन् ।
यो खेलपछि नेपालले ताजकिस्तानसँग २ खेल तथा फिलिपिन्स र यमनसँग एक/एक खेल खेल्न बाँकी हुनेछ ।
४ टोली सहभागी समूहबाट ‘होम एन्ड अबे’को आधारमा खेलहरु खेलाएर शीर्ष दुई टोलीलाई सन् २०१९ मा हुने एएफसी एसियन कप फुटबल छनोटमा सहभागी गराइनेछ ।


