![]()
धादिङ,१४ बैशाख ।
गएको फागुन २५ गतेदेखि हराइरहेका दुई ताइवानी पर्यटक बुधबार खोजी दलले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकामा फेला पारेको छ । लामो समयको खोजीपछि खोचमा खसेर एकजना बेहोस भएको र अर्का एक जना मृत अवस्थामा फेला परेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो । एक्काइस वर्षीय लाइङ सिङ युन अचेत अवस्थामा फेला परेको र १९ वर्षीया लिउ चेन चुनको निधन भएको छ ।
बुधबार बिहान रुबीभ्यालीअन्तर्गत पाल्दोर पिक जाने बाटोमा पर्ने नार्चेत खोलाको किनारमा महिला ताइवानी पर्यटक लिउको शव भेटेपछि सँगै रहेको वनमा पुरुष पर्यटक लाइङलाई पनि फेला परेको खोजीका लागि निस्किएका दावा तामाङले जानकारी दिनुभयो ।
अचेत अवस्थामा रहेका लाइङको उद्धार प्रयास भइरहेको छ । उनी भिरमा अड्किएकाले बाहिर निकाल्न केही समय लाग्ने बताइएको छ । भिरको माथिबाट चिप्लिएर लडेको खोल्चामा पुगेकी महिलाको ज्यान गएको तथा बिचमै अड्किएका पुरुष बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको गुरुङले जानकारी दिनुभयो । उनीहरू बिना पथप्रदर्शक लाङटाङ क्षेत्रमा पदयात्रामा गएका थिए ।
लाङटाङ राष्ट्रिय निकुञ्जको अनुमति लिएर धादिङको तिप्लीङ क्षेत्रबाट उनीहरूको अन्तिम पटक परिवारसँग कुरा भएको परिवारले जनाएको थियो । उनीहरूको खोजीका लागि भारतमा रहेको ताइवानी दूतावासले पर्यटक प्रहरी इकाइमा निवेदनसमेत दिएको थियो । प्रहरीले भने लाङटाङ राष्ट्रिय निकुञ्जमा फागुन १० गते प्रवेश गर्ने अनुमति लिएको कागजात पाइएको बताएको थियो ।
गणेश हिमाल विकास समिति धादिङका अध्यक्ष तेज गुरुङका अनुसार ४७ दिनसम्म रुखमा अल्झिएर जीवितै रहेका लाइङ र मृत भेटिएकी लिउलाई हेलिकप्टर काठमाडौँ लैजाने प्रयास भइरहेको छ । एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुँदै फागुन २५ गते तिप्लिङको सो क्षेत्रमा पुगेको र होम स्टेमा बास बसेका उनीहरू हिमपात भइरहेको अवस्थामा निस्किएको बताइएको छ ।
यसैबिच, पौडी खेल्न गएका त्रिपुरासुन्दरी गाउँपालिका–४ का आठ वर्षीय एक बालकको आजै डुबेर मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका–१२ पशुपतिमा बस्दै आएका कृष नेपाली आसी खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । गर्मी बढेकाले उनी साथीसँग पौडी खेल्न गएको बताइएको छ ।


