![]()
मुस्ताङ,३ असोज ।
दसैं र तिहारको लागि लक्षित गरी पोखरा लगिँदै गरिएका झन्डै ६० वटा भेडाच्याङ्ग्रा बाटोमा नै मरेका छन्। पोखराका व्यापारी प्रविण अधिकारीले ल्याएका च्याङग्रा एउटै ट्रकभित्र जबरजस्ती खाँदेका कारण मरेका हुन्। आँफूले २२ लाखको लगानीमा १ सय ३० वटा भेडाच्याङग्रा ल्याएको अधिकारीले बताए।
उक्त संख्यामा च्याङग्रा मरेपछि अधिकारीको झन्डै १० लाखभन्दा बढीको लागनी डुबिसकेको छ। बाँकी रहेका अन्य च्याङग्रा पनि निकै अस्वस्थ अवस्थामा रहेका कारण थोरै मात्रै च्याङग्रा जीवित रहनेछन्। आँफूले २ वटा ट्रकमा राखेर लैजाउँभन्दा पनि आफूनै साथीले व्यवस्थापन गरिदिएको ट्रकको ड्राइभरले एउटै ट्रकमा सजिलै च्याङ्ग्रा अट्ने बताएपछि सबै च्याङ्ग्राहरु एउटै ट्रकमा भरेको पनि अधिकारीले जानकारी दिए।
जिल्ला पशु सेवा कार्यालय पर्वतका पशु चिकित्सक बिमल पौडेलका अनुसार चिसो ठाउँमा बसेका च्याङग्रालाई एक्कासी तल झार्दा यस्तो समस्या देखिएको हो। त्यत्ति संख्याका च्याङ्ग्रा यसरी एउटै ट्रकमा राख्न हुन्थेन। त्यसमा पनि पानी नपरेकोले पछिल्ला केही दिन यता ह्वात्तै गर्मी बढेका कारण पनि सिधै गर्मी ठाउँको वातावरण च्याङग्राले खप्न सक्दैनन्। अब पनि यस्तो हुन नदिन ट्रक भित्र हावा छिर्ने प्रबन्धसहित अन्य धेरै कुरामा ध्यान दिनु आवश्यक छ।


