![]()
धनुषा । निर्वाचनको पूर्व सन्ध्यामा धनुषाको नगराइन नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्तावीच झडप भएको छ । नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा आक्रमण भएको जनाएको छ । मेयर पदका उम्मेदवार यादवले आफू घरमा सुतिरहेकाबेला दर्जनौ एमाले कार्यकर्ताहरुले घरमा आक्रमण गरेको आरोप लगाएका छन् । घरको मूलढोका तोडफोड समेत गरेर घर भित्र ढुंगामुढा गरेको यादवले बताए ।
स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उनको आरोप छ । घर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड भएको उनले बताए ।
यादवका अनुसार अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।
एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको परमेश्वरको आरोप छ । एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् ।
एमालेले भने नेपाली कांग्रेसले छानीछानी आफनो उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण भएको आरोप लगाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिको निर्देशनमा एमाले कार्यकर्ता कुटिएको एमालेको आरोप छ ।
एमाले नेता रघुबीर महासेठले विज्ञप्ति जारी गरी धनुषामा राज्य आंतक सिर्जना गरिएको र असुरक्षाका कारण अनगराई नगरपालिकाका ७० भन्दा बढी एमाले कार्यकर्ता विस्थापित भएको जनाएका छन् ।


