![]()
काठमाडौ,१ असोज ।
वर्तमान संसद्को आयु झन्डै एक महिना मात्र बाँकी रहँदा दर्जनौं विधेयक पारित गर्नुपर्ने जिम्मेवारीबाट पन्छिँदै सभामुख ओनसरी घर्तीमगर विदेश भ्रमणको तयारीमा जुटेकी छन्।सभामुख घर्ती असोज पहिलो साता चीन र तेस्रो सातादेखि श्रीलंका भ्रमणमा जान लागेकी हुन्।
श्रीलंकापछि असोज २८ देखि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा भाग लिन उनी रुस जाने मनस्थितिमा रहेको संसद् सचिवालयले जनाएको छ। असोज ३ गते संसद् दिवसका दिन सार्वजनिक बिदा हुने भए पनि सभामुख घर्तीले भोलिपल्ट चीन भ्रमणमा जाने भएपछि सार्वजनिक बिदाकै दिन संसद् बैठक बोलाएकी छन्। २ नम्बर प्रदेशमा २ गते स्थानीय तहको निर्वाचन र अन्य जिल्लाका सांसद जिल्ला भ्रमणमा रहेकाले सभामुख घर्तीले संविधान दिवसका दिन (असोज ३ गते) बैठक बोलाएकोमा सांसदहरू रुष्ट छन्।
भदौ २३ गते एकैदिन तीनवटा बैठक राख्दा पनि कोरम नपुगेपछि सभामुख घर्तीले असोज ३ गतेलाई सारेकी थिइन्। तर, स्थानीय तह निर्वाचनका लागि मधेसमा रहेका सांसद उपस्थित नभए ३ गते कोरम पुग्न कठिन छ। थारू आयोग, मुस्लिम आयोग गठनलगायत संघीयता कार्यान्वयनसम्बन्धी विधेयक संसद्मा कोरम नपुगेपछि भदौ २३ गते पारित हुन सकेका थिएनन्।


