![]()
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्षमा विद्युत् चुहावट तीन प्रतिशतले घटाउने आफनो योजना सुनाउनु भएको छ । प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै घिसिङले तीन प्रतिशत विद्युत घटाउनका लागि मातहतका कार्यालयहरुलाई निर्देशन दिइसकेको बताउनुभयो । यो वर्षमा पनि विद्युत् चुहावट कम गर्नका लागि कामहरु समेत सुरु भएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षसम्म २५.७९ सम्म चुहावट थियो । कुलमानले जिम्मेवारी सम्हालेसँगै ३ प्रतिशत घटाएर अहिले २२.९ मा सीमित गरेका छन् । यसमा पनि ३ प्रतिशतले घटाउँदै २० प्रतिशतमा सीमित गर्ने उनको योजना छ ।
कुलमानका अनुसार पूर्वी तराई क्षेत्रमा विद्युत चुहावट बढी छ । उनले अब प्राधिकरणले जलाशययुक्त र पिकिङ आयोजनाहरुको निर्माणमा जोड दिने बताएका छन् ।
साथै देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइनहरु निर्माणलाई पनि प्राथमिकतामा राखेको उनले बताए । विद्युत गाडीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्री चार्जिङ स्टेसन स्थापना गर्ने समेत प्राधिकरणको योजना छ ।
आगामी १० बर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा वितरण प्रणाली विस्तार गने लागेको घिसिङले बताउनुभयो ।


