Breaking News.... EverestOnlineKhabar
June 6, 2026

पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता खनाल शुक्रवार तराईं झर्दै, बाराको कोहल्वीमा पहिलो सम्बोधन

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल प्रदेश नम्बर २ को चुनावी प्रचार अभियानका लागि शुक्रवार तराई जाने हुनु भएको छ । चुनाव प्रचारको अन्तिम दिन भदौ ३० गते शुक्रवार नेता खनाल मधेश झर्न लाग्नु भएको हो ।

बिभिन्न दलका शीर्ष नेताहरु आ–आफनो पार्टीका उम्मेदवारलाई जिताउन तराईमा सक्रिय रहेकाबेला तराई मधेशका एमाले सम्बद्ध नेता कार्यकर्ताले नेता खनाललाई विशेष सम्बोधनका लागि आग्रह गरेका हुन ।

पूर्वप्रधानमन्त्री खनालले शुक्रवार बाराको कोहल्वीमा आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा बिभिन्न पार्टीका नेता एवम कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम समेत रहेको स्थानीय नेताहरुले बताएका छन । नेता खनालले कोहल्वीको सभालाई सम्बोधन गरिसकेपछि प्रदेश नम्बर २ का आठवटै जिल्लाका अन्य सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

एमाले अध्यक्ष केपी ओली पनि शुक्रवार नै मधेश झर्ने कार्यक्रम छ । उहाँले महोत्तरीको बर्दिवासमा आयोजित सभालाई सम्बोधन गर्नुहुनेछ । पूर्व प्रधानमन्त्री माधव नेपाल, एमाले सचिव योगेश भट्टराई लगायतका नेताहरु भने लामो समयदेखि चुनाव प्रचारप्रसारमा व्यस्त रहनु भएको छ ।

वरिष्ठ नेता खनालले प्रदेश नम्बर २ का आठवटै जिल्लामा एमालेले उत्कृष्ट नतिजा ल्याइ पहिलो हुने दावी गर्दै आउनु भएको छ । एभरेष्ट अनलाइन खबरसंग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले कांग्रेस, माओवादी लगायत तराई केन्द्रीत केही दलहरुले एमालेप्रति मधेशमा बितृष्णा फैलाउने काम गरेपनि एमालेका एजेण्डाप्रति तराई मधेशका जनताको आकर्षण लोभलाग्दो देखिएकाले जित सुनिश्चित रहेको बताउनुभयो ।

नेता खनालले भन्नुभयो, ‘तराई मधेशमा एमालेप्रतिको आकर्षण अदुभुत छ । त्यहाँका जनताले एमालेप्रति देखाएको मायाले म बहुत हर्षित छु । त्यसको कदर गर्न पनि म शुक्रवार २ नम्बर प्रदेशमा जाँदैछु । ’

प्रदेश नम्बर २ मा अशोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed