![]()
धनुषा । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी जनताका अधिकार स्थापित गर्न पुनः संविधान संशोधन प्रस्ताव ल्याउने बताउनु भएको छ ।
चुनावी प्रचारप्रसारकाक्रममा धनुषाको सहीदनगरपालिका यदुकुहामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अव बन्ने संघीय संसदमा संविधान संशोधनको प्रस्ताव ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको उल्लेख गर्दै उहाँले पुराना राजा महाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण प्रस्ताव पारित गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएका बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेंटी गरिनेछ ।’
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाईहरूले गाउँको, आफ्नो क्षेत्रको प्रधानमन्त्री चुन्ने अवसर पाउनु भएको छ । हिजो हामीले जनसत्ता र जनसरकार संचालन गरेका थियौ तर त्यसले वैधानिकता पाएको थिएन । स्थानीय तहको निर्वाचनबाट बन्ने अहिलेको सरकार पनि त्याहि जनसरकार हो, बैधानिक र सबैले मान्यता दिएको स्थानीय सरकार ।’ उहाँले परिवर्तनकारी पार्टीलाई मत दिन पनि आग्रह गर्नुभयो ।


