Breaking News.... EverestOnlineKhabar
June 6, 2026

Loading

काठमाडौ,२८ भदौ ।
कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल आक्रामक प्रतिवाद नगरी पर्ख र हेरको रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले पर्ख र हेरको रणनीति अख्तियार गर्ने भएको हो ।
यद्धपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ । एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो ।
उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ ।
विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ ।एमालेका एक नेताले भनेः‘एक साताकै बीचमा प्रचण्डका विभिन्न खाले अभिव्यक्तिहरू आइरहे पनि हामी प्रतिक्रियात्मक हुने पक्षमा छैनौँ । आवश्यकता परे चुनावी प्रक्रिया सुरु भएपछि जवाफ दिन्छौँ ।’ ती नेताले अगाडी भनेः‘माइन्डसेट नै अर्कै भएकाले आफ्ना कर्मका निम्ति माओवादी साथीहरूले भित्तामा बेस्सरी टाउको ठोक्काएर नोक्सानी नबेहोरुन्जेल गठबन्धनमा पुर्नविचार गरिहाल्नुहोलाजस्तो पनि देखिन्न ।’
कांग्रेसलाई मुख्य चुनावी प्रतिस्पर्धी ठानिरहेको एमालेले ऊ बाहेकका दलसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा हुन सक्ने तालमेलको ढोका खुल्ला राखेको छ ।
एमालेले माओवादी केन्द्रलाई चिढ्याइहाल्ने नीति नलिए पनि सत्तापक्षको गठबन्धनको सैद्धान्तिक पक्षमाथि भने दर्जनौँ प्रश्न उठाउँदै प्रचार गर्ने नीति अख्तियार गरेको छ । विदेशीको दबाबमा राष्ट्रिय हित र लोकतन्त्रविरुद्ध दुई दलको गठबन्धन बनेको, अपवित्र गठबन्धनमार्फत माओवादी केन्द्रले सैद्धान्तिक, वैचारिक धरातल समाप्त पारेकोजस्ता प्रश्न उठाएर एमालेले प्राथमिकताका साथ प्रचार गरिरहेको छ । एमालेले आफूविरुद्ध लक्षित बृहत् मोर्चाबन्दीले कुनै पनि दलसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नरहेको प्रचार गरेर कार्यकर्ता र जनताको
सेन्टिमेन्ट जित्ने प्रयासलाई प्राथमिकता दिएको छ ।
विदेशी शक्ति, सत्ता, संसद्, संवैधानिक अंग, प्रशासनिक संयन्त्र आफूविरुद्ध रहेको जनाएर कार्यकर्तालाई मिहिनेतका साथ खट्न एमालेले उत्साहित गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed