![]()
भक्तपुर । पूर्व प्रधानमन्त्री एवम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउन खोज्नेहरु आफै असफल भएको बताउनु भएको छ ।
एमाले ललितपुर क्षेत्र नम्बर ३ ले तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि संकलन गरेको ३ लाख २५ हजार ७ सय ८० रुपैंया राहत रकम बालकोटस्थित आफनै निवासमा बुझदै अध्यक्ष ओलीले नेपाली जनताले मुलुक बिखण्डन गर्न खोज्नेहरुलाई परास्त पारेको धारणा राख्नुभयो । सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएकाले यो बेला तराईका जनतालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
नेपालको जातीय विविधिता, भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएकाले सबैले सतर्क हुनुपर्ने उहाँले बताउनुभयो । केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रिय रहेको उहाँको भनाइ थियो ।


