![]()
काठमाडौं । अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट चुनिएका नयाँ प्रतिनिधि बधाई र शुभकामना लिनमै व्यस्त छन । अध्यक्ष रञ्जित तामाङ नेतृत्वको कमिटीलाई बधाई खान भ्याइनभ्याई छ । तर, सम्मेलन सफलताको खुशी बाँडन नपाउँदै अखिल क्रान्तिकारी भित्र नयाँ भूकम्प सृजना भएको छ । सम्मेलनमा भाग लिन देशका बिभिन्न स्थानबाट काठमाडौं आएका दुई सय भन्दा बढी बिद्यार्थी प्रतिनिधि होटलमै बन्धक भएपछि क्रान्तिकारी भित्र नयाँ हचलल मच्चिएको हो । सम्मेलनका दौरान होटलमा उठेको बिल भुक्तानी नभएपछि होटल संचालकले ती बिद्यार्थीलाई घर जान रोकेका हुन ।
आफूसंग भएको सिमित रकम सकिएको र संगठनले पनि बिल भुक्तानी नगरेपछि समस्या भएको समस्यामा परेका बिद्यार्थी प्रतिनिधि बताउँछन । आर्थिक अभावका कारण घर उनीहरु फर्कन पाएका छैनन् । होटलमा खाएको, बसेको पैसा तथा बस भाडा नहुँदा सम्मेलन सकिएको दुइ साता हुनै लाग्दा समेत उनीहरु गृह जिल्ला फर्कन सकेका छैनन ।
घर फर्कन नपाउँदा कतिपय विद्यार्थीको नियमित पढाईसमेत प्रभावित भएको छ । कतिपय विद्यार्थी त, प्रमाणपत्र तहको परीक्षामा सहभागी हुनबाट बञ्चित हुनुपर्ने अवस्थामा पुगेका छन् । नेतृत्वले बाटो खर्चको व्यवस्था नगरिदिंदा प्रतिनिधिहरु परीक्षा दिने अवसरबाट बञ्चित हुने अवस्था आएको २१औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित बझाङका दीपक रोकायाको भनाई छ ।
रोकायले भने, ’मैले होटलमा झोला, महत्वपूर्ण कागजात जमानीमा राखेर बाहिर निस्किएको छु र पैसा जुटाउन नेता खोज्दै हिंडेको छु ।’
आर्थिक अभावमा घर फर्कन नपाएका विद्यार्थीहरु सुन्धारा, बल्खु र कलंकीका विभिन्न होटलमा थुनिएको रोकायले बताए । होटल सञ्चालकहरूले खाना, नास्ता, बास बसेको पैसा तिरेर मात्र निस्कन दिने भन्दै प्रतिनिधिहरूलाई बाहिर निस्कनै नदिएपछि उनिहरू समस्यामा परेका हुन् ।
खासगरी सुदूर तथा मध्यपश्चिमका जिल्लाहरु बझाङ, बाजुरा, डोटी, बैतडी, डडेल्धुरा, कैलाली, अछाम, दाङ, रोल्पा, जाजरकोट र कालिकोटका प्रतिनिधिले खर्च गरेका रकम आयोजकले होटललाई नबुझाउँदा घर फर्कन नपाएका हुन् । उनीहरुको संख्या करिब दुई सय छ । क्रान्तिकारीले सम्मेलनमा सहभागी हुन देशभरबाट आएका करिब २५ सय प्रतिनिधिलाई राजधानीका विभिन्न होटलमा राखेको थियो । घर फर्कन नपाएकाहरुले आफ्ना गृहजिल्ला र प्रदेशका नेता तथा विद्यार्थी नेतृत्व समक्ष पटक–पटक होटलबाट बाहिर निकालिदिन टेलिफोन र एसएमएसमार्फत आग्रह गरेका छन् । तर, नेताहरुले वेवास्ता गरेको प्रतिनिधिहरु बताउँछन् । उनिहरूको भनाई छ, निर्वाचनअघि आफू पक्षधर उम्मेदवारलाई जिताउन टेलिफोन गर्ने नेताहरुसमेत अहिले फोन उठाउन छाडेका छन् ।
अध्यक्ष तामाङ भन्छन : समस्या समाधान भैसक्यो
अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले भने केही दिन बिद्यार्थी प्रतिनिधिहरुको समस्या देखिएपनि अहिले त्यो समाधान भैसकेको दावी गर्नुभएको छ । उहाँले सम्मेलनमा भाग लिन आएका सबै प्रतिनिधिहरुको जिम्मा संगठनले लिने भएकाले हाल कुनैपनि प्रतिनिधि होटलमा बन्धक भएर नबसेको दावी गर्नुभयो । यदि कोही बसेका भेटिए उनीहरु व्यक्तिगत रुपमा बसेको हुनसक्ने उहाँले बताउनुभयो ।


