Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पूर्वप्रधानमन्त्री खनालद्वारा प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट चुनाव लडने घोषणा

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट चुनाव लडने घोषणा गर्नुभएको छ ।

एभरेष्ट अनलाइनखबरसंग कुरा गर्दै नेता खनालले भन्नुभयो,‘ म जहाँ जन्मे, जहाँ हुर्के, जहाँको हावापानी प्राप्त गरें, जहाँको माटोले म समृद्ध भए, त्यहींबाट चुनाव लडने निर्णय गरेको छु । ’

नेता खनालले इलाम क्षेत्र नम्बर १ बाटै आफूले राजनीतिक यात्रा थालेको र त्यहाँका जनताको अपार माया पाइरहेकाले आफू उनीहरुको वास्तविक प्रतिनिधि भएको उल्लेख गर्नुभयो ।

अर्को प्रसंगमा नेता खनालले अशोज २ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनमा एमाले आठवटै जिल्लाका स्थानीय तहमा विजयी हुने दावी गर्नुभयो । तराई मधेश नेकपा एमालेको पुरानो आधार क्षेत्र भएकाले पार्टीको पृष्ठभूमी, तराई मधेशबाटै आएका नेताहरुको व्यक्तित्व र योगदान लगायतका कारणले एमालेको विजयी यात्रा सुनिश्चित रहेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ का आठवटै जिल्लाका जनतासंग एमालेको घनिभूत सम्बन्ध रहेको र ती क्षेत्रमा एमालेका एजेण्डाप्रति जनताको लहर अद्भूत देखिएको उहाँले बताउनुभयो । नेता खनालले प्रदेश नम्बर २ को निर्वाचनका लागि कुनै पार्टी विशेषसंग तालमेल गर्ने केन्द्रीत नीति नभएपनि स्थानीय आवश्यकताको आधारमा उम्मेदवारले तालमेल गर्न सक्ने जानकारी दिनुभयो । एमालेप्रति जनताको जनलहर बढेकाले तालमेलको जरुरी नभएपनि केही क्षेत्रमा तालमेल हुनसक्ने उहाँले बताउनुभयो ।

निर्वाचन प्रचार अभियानकाक्रममा बिभिन्न तत्वले बाधा सृजना गर्ने, उम्मेदवारको घरमा बम बिष्फोट गराउने, पार्टीको झण्डा पम्प्लेट च्यात्ने लगायतका काम गरेपनि त्यसबाट एमाले बिचलित नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ एमालेलाई प्रदेश नम्बर २ मा प्रवेश गर्न नदिने दुस्प्रयास भए, उम्मेदवारको घरमा बिष्फोट गराइयो, कार्यकर्तालाई आतंकित पार्न खोजियो, उम्मेदवारी दर्तामा ठूलै अवरोध गर्न खोजियो, तर एमालेलाई रोक्न सम्भव भएन । ’ खनालले भन्नुभयो, ‘ एमालेका झण्डा पम्प्लेट च्यात्नेहरुले एमालेप्रतिको जनताको आस्थालाई च्यात्न सक्दैन । ’

नेता खनालले एमाले अन्य राजनीतिक दलहरु भन्दा हर कुरामा अगाडि रहेकाले प्रदेश नम्बर २ सहित आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि एक नम्बर हुने दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed