![]()
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले पल्सर स्पोर्टस् अवार्ड आयोजनाका लागि खेलकुद परिषदले कम्तीमा १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अवार्डको तयारीबारे शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले परिषद सदैव मञ्चको साथमा रहेको बताउनुभयो । उहाँले हरेक संस्करणका लागि कम्तीमा १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
सदस्य सचिव बिष्टले परिषदबाटै खेलाडी पुरस्कृत गर्ने सोच बनाएपनि पल्सर अवार्डको चर्चा बढेकाले यसलाई नै समर्थन गर्ने सोचमा पुगेको धारणा राख्नुभयो ।
खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले आयोजक मञ्च भएपनि यसको विस्तार र निरन्तरताका लागि सरकारले स्वामित्व लिइदिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी बिभिन्न बिधाका खेलाडीहरुले राखेपको कदमले हौसला मिलेको बताउनु भएको थियो । पल्सर स्पोर्टस् अवार्डको १४औं संस्करण भदौ २६ गते सोमबार राजधानीमा हुँदैछ । कार्यक्रममा विभिन्न ८ विधाका खेलाडी, प्रशिक्षक तथा खेलकर्मी पुरस्कृत हुँदैछन् ।


