![]()
चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेदेखि रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको बैठकले चाडपर्वका बेला सडक खुल्ला गर्ने निर्णय गरेको हो । यसअघि गत असार २५ गतेदेखि सो सडक रातको समयमा बन्द गरिएको थियो ।
रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको हो । यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने निर्णय बैठकले गरेको छ ।
यस्तै, सडकमा कालोपत्रे गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने, सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।


