![]()
वीरगञ्ज,२२ भदौ ।
जिल्ला समन्वय समिति कार्यालय पर्सामा राखिएको वीरगन्ज महानगरपालिकाका पदाधिकारी उम्मेवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रममा बुधबार रातीसम्म ठूलो भीड लागेको थियो । कर्मचारीलाई भ्याइनभ्याइ भएको थियो । यत्तिमात्र नभई सुरक्षाकर्मी तथा अधिकारीहरूलाई व्यवस्था मिलाउन रातिसम्म कठिनाइ परेको थियो । अधिकांश ठूला दलका वडाअध्यक्ष तथा सदस्यका पदमा वागीहरूले स्वतन्त्र उम्मेदवार दर्ता गराउनको लागि रातिसम्म समय लाग्यो । बिहान १० बजेदेखि उम्मेद्वारी दर्ताको समय तोकिए पनि दिउँसो १२ बजेसम्म मेयरका स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन पत्र दर्ता गराएका थिए। अधिकांश दल बुधबारको दिनलाई चुनावी शक्ति प्रदर्शनको रूपमा लिएको वीरगन्जका मतदाताहरुको भनाइ छ। बुधबार साँझ ६ बजेसम्म वीरगन्ज महानगरपालिकाको मेयरमा स्वतन्त्रसँगै १८ जना र १३ जनाले उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसको तर्फबाट पार्टीका पर्सा जिल्ला सभापति अजय द्वबेदी, एमालेबाट बसरूद्दीन अन्सारी, सङ्घीय समाजवादी फोरम नेपालबाट प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगी, माओवादी केन्द्रबाट युवा नेता रहबर अन्सारी, राष्ट्रिय जनता पार्टीको तर्फबाट महामन्त्री राजेशमान सिंह, फोरम लोकतान्त्रिकबाट विमलप्रसाद श्रीवास्व, नयाँशक्ति पार्टीबाट मुन्नाकुमार साह, नेकपा मालेबाट लक्ष्मीराज न्यौपाने, नेपाली जनता दलबाट मनोज रौनियारले पार्टीगत रुपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी मेयर पदको लागि स्वतन्त्रमा विकाश राउत अहिर, छोटेलाल राउत कुर्मी, लक्ष्मण साह तेली, महम्मद रज्जा, देउकीलाल कानू, बिल्टु राम बरई उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृतको कार्यालय पर्साले जानकारी दिएको छ । यसैगरी उपमेयरमा काङ्ग्रेसबाट शान्ति कार्की, एमालेबाट सोफिया आचार्य, माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, सङ्घीय समाजवादी फोरम नेपालबाट पिड्ढी यादव, राजपाबाट रम्भा मिश्र, फोरम लोकतान्त्रिकबाट रिड्ढी यादव, नेपाली जनता दलबाट मैथली राउत, राप्रपा (प्रजातान्त्रिक) बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र रुपमा उपमेयरमा अमोद गिरी, श्यामबाबू पटेललगायत १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।


