![]()
काठमाडौ,२२ भदौ ।
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा दलहरु एक्लाएक्लै भिड्ने भएका छन् । प्राय सबै दलले चुनावी तालमेल गर्ने प्रयास गरेपनि सफल हुन नसकेपछि एक्लै भिड्न लागेका हुने । यति मात्र होइन् स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको महागठबन्धन बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायत दलहरूको गठबन्धन प्रयास भए पनि बुधबारको उम्मेदवारी दर्तामा त्यो देखिएन ।
तीनवटा स्थानीय तहबाहेक सबैमा दलहरूले आ–आफ्ना उम्मेदवारी दिएका छन् । धनुषाको मिथिला र बाराको निजगढमा कांग्रेस र माओवादी केन्द्र तथा सप्तरीको रूपनी गाउँपालिकामा राजपा र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ । त्यसबाहेक अन्य स्थानका प्रमुख पदमा सबै दल एक्लाएक्लै भिडदै छन् । कांग्रेस र माओवादी केन्द्रबीच १० भन्दा बढी स्थानीय तहमा तालमेल गर्ने तयारी थियो । तर धनुषाको मिथिला र बाराको निजगढ गरी दुईवटा नगरपालिकामा मात्र गठबन्धन सम्भव भयो । दुवै नगरमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर तालमेल गरेका छन् ।
बाराकै जितपुर–सिमरा उपमहानगरमा समेत तालमेल गर्ने उनीहरूको पहल सफल भएन । गठबन्धनका लागि दलहरूले व्यापक कसरत गरे पनि आन्तरिक किचलोका कारण तालमेल सम्भव नभएको हो । कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष माओवादीसँग तालमेल नगरी चुनाव लड्नुपर्ने पक्षमा उभिँदै आएको थियो । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने माओवादीसँगको तालमेललाई प्राथमिकतामा राखेका थिए । उनले सत्ता गठबन्धनलाई समेत मजबुत बनाइराख्न र एमालेको प्रभाव कमजोर पार्न गठबन्धनमा जोड दिएका थिए । पौडेल पक्ष भने माओवादीसँग तालमेल गरेर जाँदा कांग्रेसलाई घाटा हुने भन्दै विपक्षमा उभिएको हो । यसअघि कुनै पनि चुनावमा अन्य पार्टीसँग गठबन्धन नगरेको दल अहिले माओवादीसँग जोडिँदै हिँड्दा कांग्रेस कमजोर भएको सन्देश गएको भन्दै पौडेल पक्षले एक्लै लड्नुपर्ने अडान राखेको हो ।
माओवादीले पनि तालमेलका लागि कांग्रेससँग केही सर्त राखेको थियो । राजमार्ग क्षेत्रमा आफ्नो प्रभाव रहेकाले त्यहाँ पर्ने नगर र गाउँपालिकामा कांग्रेसले सघाउनुपर्ने सर्त माओवादीको थियो । राजमार्ग क्षेत्रमा सहयोग गरे राजमार्गभित्रका स्थानीय तहमा कांग्रेसलाई सघाउने माओवादीले बताएको थियो । तर यो विषयमा दुई पार्टीबीच कुरा मिल्न नसकेपछि बुधबारको मनोनयनमा दुवै दलले आ–आफ्नो उम्मेदवारी दिए ।
तालमेल गर्दा आकांक्षीको व्यवस्थापन गर्न पनि दुवै दललाई समस्या पर्ने देखियो । उम्मेदवारका आकांक्षीले टिकट नपाए अर्को पार्टी प्रवेश गरेर चुनावमा उठ्न सक्ने र त्यसले समग्र परिणाम नै उलटपुलट हुने सम्भावना बढेपछि तालमेल गराउन कस्सिएका केन्द्रीय नेताहरू नै निष्क्रिय बन्न बाध्य भए । कतिपय जिल्ला नेता र कार्यसमितिले तालमेल गरे वा आफूले टिकट नपाए पार्टीको विपक्षमा उभिने घोषणा नै गरेपछि केन्द्रीय नेताहरू पछि हटेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिकामा तालमेल प्रयास भइरहँदा कांग्रेसको स्थानीय कार्यसमितिले त्यसलाई नमान्ने घोषाणसहितको पत्र नै पठाएको थियो ।
कांग्रेस र माओवादी केन्द्रबीच बाराको जितपुर–सिमरा उपमहानगर र सर्लाहीको लालबन्दीमा तालमेल गर्ने करिब समझदारी भएको थियो । तर तल्लो तहबाट नमान्ने चेतावनी आएपछि सम्भव नभएको साहले बताए । कांग्रेस र माओवादी दुवैले राजपासहितका अन्य मधेसी दलहरूसँग पनि तालमेललाई प्राथमिकतामा राखेका थिए । तर उनीहरूबीच ठोस रूपमा कुरा नै भएन । बर्दिबासमा कांग्रेससँग राजपाले तालमेलको कुरा अघि बढाएको थियो । तर स्थानीय नेताहरूले नमान्ने बताएपछि सफल हुन सकेन ।


