![]()
बिबिसि । जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन् । माकोले आफ्नो ’इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल हाउसहोल्डले जनाएको छ । उनले आफ्नो राजपरिवारको सदस्यको हैसियत भने गुमाउनेछिन् ।
जापानको एउटा विवादास्पद कानून अन्तर्गत शाही परिवारका महिला सदस्यहरुले सर्वसाधारणसँग विवाह गरे आफ्नो शाही हैसीयत गुमाउनेछन् । पुरुष सदस्यहरुलाई भने त्यस्तो विवाह गर्न छुट रहेको छ ।
एउटा पत्रकार सम्मेलनमा राजकुमारी माकोले आफूले पहिलो पटक आफ्नो प्रेमी केइ कोमुरोलाई देख्दा उनको मुस्कान सूर्यको जस्तो लागेको बताइन् ।

उनले भनिन, “मलाई सानैदेखी थाहा थियो विवाह गरेपछि मैलै शाही हैसियत गुमाउनेछु, मैले हाम्रा सम्राटलाई सहयोग गर्न र शाही परिवारको सदस्यको रुपमा आफ्नो जिम्मेवारी वहन गर्न सकेसम्म प्रयास गरेको छु तर म मेरो व्यक्तिगत जीवनबाट पनि प्रसन्न छु ।“
राजकुमारी माको राजगद्दीको उत्तराधिकारी होइनन् किनभने सन् १९४७ को कानूनले शाही वंशको पुरुष सदस्यमात्रै सम्राट बन्ने व्यवस्था गरेको छ ।
२५ वर्षका उनका भावी श्रीमान केइ कोमुरो एउटा ल फर्ममा काम गर्छन् । दुवैबीच एउटै विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा पाँच वर्षअघि पहिलो पटक भेट भएको थियो ।
एउटा टेलिभिजन कार्यक्रममा उनले राजकुमारीलाई आफूले ‘चन्द्रामाले जसरी एक टहकले हेर्ने’ व्यक्तिका रुपमा व्याख्या गरे । २५ वर्षिय राजकुमारी माको राजकुमार फुमिहितोकी जेठी छोरी हुन् । उनले विद्यावारिधि गरिरहेकी छन् र एउटा सङ्ग्रहालयमा अनुसन्धानकर्ता रुपमा काम गर्दै आएकी छन् ।
यो घोषणा जुलाइ महिनामा नै आउने अपेक्षा गरिएको थियो तर पश्चीम जापानमा वर्षाले विपद् निम्त्याएपछि योजना स्थगित गरिएको थियो । जापानको सार्वजनिक सञ्चार प्रदायक एनएचकेले उनीहरुको बिहे अर्को वर्ष हुने जनाएको छ ।


