![]()
काठमाडौ,२० भदौ ।
सरकारले निर्वाचन आचारसंहिता केही समय रोक्न निर्वाचन आयोगसँग आग्रह गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा मन्त्रीहरूले निर्वाचन आचारसंहिता दसैंसम्म स्थगित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आउन ३५ देखि ४५ दिन बाँकी रहँदा मात्र आचारसंहिता लागू गराउने प्रचलनविपरीत आयोगले आचारसंहिता लगाएको भन्दै मन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् ।
अकस्मात् लागू भएको आचारसंहिताले सरकारको कामकारबाहीमा गम्भीर असर पारेको, स्थानीय तहमा कर्मचारी खटाउन नसकिएकोलगायत समस्या मन्त्रीहरूले प्रधानमन्त्रीलाई सुनाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले आयुक्तहरूलाई बोलाएर निर्वाचन आचारसंहिता केही समय स्थगित गर्न आग्रह गर्ने जानकारी गराएका थिए । प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरूलाई बुधबार बोलाएर छलफल गर्ने आश्वासन दिएको महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइरालाले बताइन् । मन्त्रीहरूले दसैपछि मात्र कार्यान्वयन गर्ने गरी हाललाई आचारसंहिता स्थगित गरिनुपर्ने प्रधानमन्त्रीलाई बताएका थिए ।
सरकारले एक साताभित्र निर्वाचन आयोगमा तीनजना सचिवको पालैपालो सरुवा गरेको छ । मन्त्रिपरिषद्को १४ भदौको बैठकले पर्यटन सचिव शंकर अधिकारीलाई निर्वाचन आयोगमा सरुवा गरेको थियो । आयोगका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गरेको थियो । तर, सचिव अधिकारीलाई आयोगले अस्वीकार गरेपछि सरकारले अर्का सचिव वेगेन्द्रराज पौडेललाई सरुवा गरेको हो।
सचिव न्यौपानेलाई हटाएपछि निर्वाचन तयारीमा गम्भीर असर पर्ने तर्क गर्दै आयोगले उनको सरुवा रोक्न सरकारसँग आग्रह गरेको थियो ।
सचिव न्यौपानेले २०७० को संविधानसभा निर्वाचनमा आयोगमा आन्तरिक महाशाखा प्रमुख भएर काम गरेका थिए । त्यसक्रममा उनीमाथि आर्थिक अपारदर्शिताको समेत आरोप लागेको थियो ।


