Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नेपाल आउने बाटोको भारतीय पुल भासिँदा सयौं कन्टेनर अलपत्र

Loading

अररिया(भारत),६ भदौ ।
भारत विहारको अररिया जिल्लास्थित मिरगन्ज खोलाको पुल बाढीका कारण धस्सिएपछि नेपाल आउने पाँच सय मालवाहक गाडी सीमाक्षेत्रमै रोकिएका छन्। यो पुल भारतको राष्ट्रिय राजमार्ग एनएच ५७ ए अन्तर्गत पर्छ। यो ठाउँ नेपाल–भारत सीमाबाट ६ किलोमिटर दक्षिणमा अवस्थित छ।
पुलले अधिक भार थेग्न नसक्ने भएपछि भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने गाडीलाई बथनाहामै रोकेका छन्। नेपालतर्फ भारत जानुपर्ने पाँच सय गाडी विराटनगर भन्सार उत्तरतर्फ लाम लागेका छन्। आइतबार साँझदेखि भारतीय सुरक्षाकर्मीले मालवाहक साधनलाई पुल भएर चल्न रोक लगाएका हुन्। गाडीको लाम बथनाहा दक्षिणतर्फ करिब तीन किलोमिटर परसम्म पुगेको छ।
समस्याबारे पटनास्थित भन्सार विभागलाई जानकारी गराइएको जोगबनी भन्सार कार्यालयका सहायक आयुक्त पवन कुमारले जानकारी दिए।‘कम्तीमा पनि १५ दिनसम्म पुल सञ्चालन नहुने हाम्रो अनुमान छ। पुल पुनर्निर्माण र मर्मतका लागि ठेकदार कम्पनीसँग कुराकानी भइसकेको छ ।’ उनले भने। पुल पूर्ण रूपमा क्षतिग्रस्त भए जनतालाई समेत आउजाउ गर्न समस्या हुने भएकाले तत्कालका लागि ठूला मालवाहक सवारी चल्न रोक लगाइएको उनले बताए।
फलामको ट्रस्ट र पिलरबाट करिब एक सय वर्षअघि अंग्रेजको पालमा बनेको यही पुलले नेपालतर्फ विराटनगर र भारतको अररिया बथनाहालाई स्थलगमार्गबाट जोडेको छ। यसको वैकल्पिक पुल निर्माणका लागि पहल भइरहेको छ।
दैनिक ठूलो संख्यामा औद्योगिक कच्चापदार्थ, उपभोग्य वस्तु तथा अन्य सामान बोकेका मालवाहक गाडी यही बाटो भएर जोगबनी हुँदै विराटनगरतर्फ आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed