![]()
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गर्नुभएका नेता पशुपतिशम्शेर राणाले आफनो र आफनो अभियानबारे भ्रम नफैलाउन राप्रपा अध्यक्ष कमल थापालाइ चेतावनी दिनुभएको छ ।
काठमाडौंमा शनिबार बसेको राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमार्फत राणाले आफूसहित आफू पक्षधर नेताहरुको थापाले मान मर्दन गरेकोमा आपत्ती जनाउनुभयो । उहाँले तल्लोस्तरको गालीगलौजमा नउत्रन थापालाइ सुझाव पनि दिनुभएको छ ।
साथै, बैठकले नयाँ पार्टी गठनका लागि कुनै पनि समस्या नरहेको भन्दै बिचलित नभइ बस्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ । निर्वाचन आयोगमा पार्टी दर्ताको प्रक्रियामा रहेकाले विपक्षीहरूले चलाएको कुनै पनि भ्रममा नपर्न बैठकले अपिल गरेको छ ।
बैठकमा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले केही दिनभित्रै सर्वोच्च अदालतले आफूहरूको पक्षमा फैसला गरेर न्याय दिनेमा आफू आशावादी रहेको बताउनुभएको थियो ।
बैठकमा नेता दीपक बोहराले पार्टीलाई निर्वाचन केन्द्रित बनाउनु पर्नेमा जोड दिनुभएको थियो । ‘राप्रपाबाट अझै थुप्रै केन्द्रीय सदस्य र सांसदहरू हामीतिर आउँछु भनेर भन्नुभएको छ । उहाँहरूलाई हामीले छिट्टै स्वागत गर्ने छौँ ।’ बैठकमा बोहराले भन्नुभयो ।
बैठकमा ६२ जना केन्द्रीय सदस्य र २० जना सांसद उपस्थित रहेको केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले जानकारी दिनुभयो ।


