![]()
काठमाडौ,१ भदौ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गर्न सरकारलाई फेरि ताकेता गरेको छ । आयोग पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ ३ गतेसम्म निर्वाचन मिति घोषणा गरिदिन आग्रह गरेका छन् । आयोगले निर्वाचन कानुनहरू र क्षेत्र निर्धारण आयोग प्रतिवेदनसमेत एक साताभित्र माग गरेको छ । मंसिर पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन गराउनुपर्ने प्रस्ताव आयोगको छ । त्यसकै तयारीका लागि प्रमुख निर्वाचन आयुक्तसहितका आयुक्तले पटकपटक प्रधानमन्त्रीलाई भेटिसकेका छन् ।
तर आयोगले गरेको आग्रहअनुसार सरकारबाट काम भएको देखिएको छैन् । आयोगले सुरुमा साउन १६ र त्यसपछि भदौ १ सम्म जसरी पनि निर्वाचन मिति घोषणा गरिदिन आग्रह गरेको थियो । तर सरकारले क्षेत्र निर्धारण आयोगको म्याद नै भदौ १५ सम्म बढाएपछि झस्किएको आयोगका पदाधिकारी फेरि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
आयोगले सुरुमा असोज ३० मा प्रदेशसभाको चुनाव मिति प्रस्ताव गरे पनि अब नभ्याइने बताइसकेको छ । सरकार र आयोगबीच दुवै निर्वाचन एकै दिन गर्ने विषयमा छलफल चलिरहे पनि टुंगो लागिसकेको छैन । हाल प्रत्यक्ष र समानुपातिकतर्फ रहने छुट्टाछुट्टै मतपत्रलाई आयोगले एउटै बनाउन प्रस्ताव गरिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक संसदमा विचाराधीन रहेकाले दुवै एकैपटक गर्ने हो भने मतदातासहित निर्वाचनको सम्पूर्ण व्यवस्थापनमा सहजताका लागि एउटै मतपत्रको कानुनी प्रावधानमा आयोगको जोड छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भदौ ७ गतेबाट भारत भ्रमणमा जाने भएकाले त्यसअगावै मिति घोषणा होस् भन्ने आयोगको अपेक्षा छ । आयोग पदाधिकारीसँगको भेटमा देउवाले दलहरूसँगको परामर्शमा यथाशीघ्र मिति घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रदेश २ मा थपिने नयाँ स्थानीय तहमा यथाशीघ्र कर्मचारी परिचालन गरिनुपर्ने र त्यहाँको सम्पूर्ण विवरण उपलब्ध हुनुपर्नेतर्फ समेत आयोगले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । असोज २ गते प्रदेश २ मा स्थानीय तहको चुनाव तोकिएको छ ।


