![]()
सप्तरी,३२ साउन ।
बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। कतै औषधिको खाँचो छ त कतै खाद्यानका लागि कोलाहल। एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ। बनरझुलाका ४ सयभन्दा बढी परिवार हाल विस्थापित भएर बाँधछेउमा तीन दिनदेखि बस्दै आएका छन् । त्यहाँका ५० भन्दा बढी बालबालिका बिरामी परेको स्थानीय रामेश्वर मुखियाले जानकारी गराए ।
त्यस्तै सोही भेगका कुसहा, सखुवा, कोबर्साइन, कोइलाडी, रम्पुरा, डलबालगायतका स्थानका विस्थापितको क्याम्पमा समेत ठूलो संख्यामा बालबालिका तथा वृद्धवृद्धा बिरामी परिरहेका छन् ।स्थानीयले भनेः‘यहाँको पहिलो प्राथमिकता भनेको खाद्यान र औषधि नै हो तर हामीले केही पनि पाएको छैन, हजारौंको संख्यामा पीडित छौं तर सयौंका लागि च्युरा–मुरही ल्याइन्छ, यसरी समस्या समाधान हुँदैन ।’
प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य टोली परिचालन गरिएको बताए पनि मंगलबार साँझसम्म बाढी प्रभावित कुनै पनि क्षेत्रमा स्वास्थ्यटोली पुग्न सकेको छैन । मंगलबारै बसेको ‘हेल्थ कलस्टर’ को बैठकले तत्काल चारवटा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।


