Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपालमा मनसुन निष्क्रिय, तत्कालको लागि खतरा टर्‍यो

Loading

काठमाडौ,३१ साउन ।
गत बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ। देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिमी भूभागमा सामान्य वर्षा हुने मौसमविद्ले जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान कार्यालयका अनुसार मनसुन प्रणाली क्रमिक रूपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुनेछ ।
नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको हो। मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि अझै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने उनले बताए।
शुक्रबार र शनिबार देशको पूर्वी भूभागमा सक्रिय मनसुन आइतबारदेखि मध्य र पश्चिमी भूभागमा सरेको थियो। सोमबारदेखि नै मध्य र पश्चिमी भूभागमा मौसम सफा हुन थालेकाले सुदूरपश्चिममा पनि विस्तारै सुधार हुने क्रममा छ। जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान शाखाका अनुसार वर्षा रोकिएसँगै अधिकांश नदीमा पानीको सतह घटेको छ। खतराको सतह पार गरेको पश्चिम राप्ती, बबई, नारायणीलगायत नदीको सतह घटेको छ।
बंगालको खाडीबाट न्यूनचापीय मनसुनी वायु ४ महिनासम्म चल्दा नेपालमा मनसुन प्रणाली सक्रिय हुने र वर्षा हुने मौसमविद् बताउँछन्। सामान्यतया जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला सक्रिय भएको थियो। असोज ७ देखि मनसुन नेपालबाट बाहिरिन्छ। मनसुनको मुख्य समय मानिने असार, साउन र भदौमा सामान्यदेखि भारी वर्षा हुने गरेको मौसमविद्ले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.