![]()
सुर्खेत,२९ साउन ।
शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको हो । गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ ।
यसैबीच,लगाताकारको वर्षाले रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् । सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुहरुलाई सास्ती भएको छ । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


