![]()
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले यथाअवस्थामा निर्वाचनमा नजाने निर्णय गरेको छ ।
काठमाडौंमा तीन दिनसम्म चलेर मंगलबार सम्पन्न भएको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा नजाने निर्णय गरेको हो ।
‘सरकारसँग भएको सहमति कार्यान्वयन होस् भन्ने पक्षमा बैठकले निर्णय गरेको छ’, महामन्त्री जितेन्द्र सोनलले भन्नुभयो, ‘संविधान संशोधन हाम्रो माग हो । निर्वाचनका विरोधी होइनौँ । यथाअवस्थामा निर्वाचनमा जान सकिँदैन ।’
‘निर्वाचनमा नजाने निर्णय भएको छ’, महासचिव मनीषकुमार सुमनले भन्नुभयो, ‘अब राजपा नेपाललाई आन्दोलनमा जान बाट रोक्ने वा नरोक्ने भन्ने कुरा सरकारको हातमा छ ।’
बैठकमा गठन भएका ३० समूहमध्ये ९० प्रतिशत समूहले यथाअवस्थामा निर्वाचनमा जान नहुने सुझाव दिएका थिए ।
राजपा नेपालले आफ्नो विधान र नियमावली समय सापेक्ष बनाउन एउटा समिति बनाउने निणर्य गरेको छ । सो समितिमा रहने सदस्यहरू अध्यक्षमण्डलले तय गर्ने छन् ।
असन्तुष्ट पक्षका नेताहरू हृदयश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्लाले केन्द्रीय कार्यसमितिबाट विधान अनुमोदन गर्नुपर्ने माग राखेका थिए ।
विधान अनुमोदन त बैठकले गरेन तर, विधानलाई परिमाजर्नको सुझाव दिन समिति बनाउने निर्णय मात्रै गरेको छ । यो निर्णयलाई असन्तुष्ट पक्षले के गर्ने हो केही बताइएको छैन ।


