![]()
काठमाडौं । जतिबेला राप्रपाका अध्यक्ष कमल थापा पार्टी फुटाउन भूमिका खेलेको भन्दै ६ सांसदसहित १७ जनलाइ पार्टीबाट निष्कासनको निर्णय गर्दै थिए, ठीक त्यहीबेला वरिष्ठ नेता पशुपतिशम्शेर राणा नक्शालस्थित एक पार्टी प्यालेसमा आफूले पार्टी फुटाउनुको कारणबारे पत्रकार सम्मेलन गरिरहेका थिए ।
अध्यक्ष थापाले यता १७ जनालाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरे उता राणाले पार्टीलाइ ध्वस्त हुनबाट जोगाउन आफूले कदम चालेको प्रष्टीकरण दिए ।
स्थानीय तहको निर्वाचनमा अत्यन्त निराशाजनक र लज्जास्पद हार बेहोरेपछि आफू यो कदम चाल्न बाध्य भएको उनले बताए । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ‘नेतृत्वले निर्वाचनमा देखाउनु पर्ने संयोजनकारी भूमिका निर्वाह गर्न सकेन । ६ प्रदेशमा सम्पन्न स्थानीय निर्वाचनको परिणाम अनपेक्षित र अस्वभाविक भयो । पार्टी चौथो स्थानबाट तल झर्यो । यस परिघटनाले के देखाउँछ भने वर्तमान पार्टीको नेतृत्वले जनविश्वास गुमाइसकेको छ । यदि पार्टी निश्चित लक्ष्य नभएको दिशाहीन अवस्थाबाट गुज्रिरहने हो भने आगामी प्रान्तीय र संसदीय निर्वाचनमा झन् ध्वस्त हुने निश्चितप्राय छ ।’
दोस्रो बुँदामा सरकारमा सहभागिता जस्ता महत्वपूर्ण विषयहरुमा निर्णय गर्दा व्यक्तिगत लहड र स्वार्थलाई मात्र प्राथमिकता दिइएको उल्लेख छ ।
त्यस्तै पार्टी एकीकरणको बेला एकीकृत पार्टीको चुनाव चिह्न हलो रहने अनौपचारिक सहमतिलाई बलपूर्वक लत्याइएको कारण पनि उल्लेख छ ।
पार्टी एकीकरण हुँदा कुनै एउटा पार्टी अर्कोमा विलय भएको नभए पनि विलय भएकै जस्तो गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गरिनु पनि पार्टी फुटको अर्को कारण बिज्ञप्तीमा उल्लेख छ ।


