![]()
काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार रूपैयाँ पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कोषको यथार्थ सम्पत्तिमध्ये चार अर्ब ९८ करोड ४४ लाख रूपैयाँ लगानीमा रहेको जानकारी दिइयो ।
कोषको मुख्य आयस्रोतका रुपमा शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र नेपाली सेना स्वास्थ्य विज्ञान तथा विभिन्न विद्यालयको शिक्षण शुल्क भएको सेनाले जनाएको छ ।
शान्ति सेना परिचालनमार्फत नेपाली सेनाले वार्षिकरुपमा कोषका लागि झण्डै डेढ अर्ब रुपैयाँ आर्जन गर्ने गरेको छ । खराब कर्जाका रुपमा रहेको रु २२ करोड उठाउने प्रयास भइरहेको पनि सेनाले जनाएको छ ।
कल्याणकारी कोषबाट भूतपूर्व तथा बहालवाला सेनाका लागि लक्ष्य गरेर सञ्चालन गरिएको लघुवित्त कार्यक्रमअन्तर्गत १६ हजार ६७ जनालाई सहुलियत ब्याजदरमा रु दुई अर्ब ५२ करोड कर्जा प्रवाह गरिएको समेत सेनाले जनाएको छ ।
यस्तै, पश्चिमाञ्चलको पोखरा र पूर्वाञ्चलको इटहरीमा अस्पताल सञ्चालनमा ल्याउने नेपाली सेनाको योजना छ ।


